पोखरा, असार ४
पोखरा महानगरपालिकाले पोखरा बसपार्क निर्माण र फिर्केखोलामा करिडोर निर्माणलाई प्राथमिकता दिएर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको विहीबार भएको १९ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
पोखरा पृथ्वीचोकमा बसपार्क निर्माणका लागि घर, टहरा हटाउने अभियान चलाईरहेको महानगरले सो अभियानलाई सार्थकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नगर विकास कोष र एसियाली विकास बैंकको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसपार्क निर्माण कार्य सुरु गरिनेछ ।’ बसपार्क क्षेत्रमा महानगरले विहीबार मात्रै घर,टहरा भत्काउन डोजर चलाएको थियो । यद्वपी पृथ्वीचोकमा बसपार्क बनाउन सुकुमबासीको व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान राख्दै आएका सुकुमबासीको व्यवस्थापनका लागि महानगरले विभिन्न उपसमिति बनाएर जग्गा खोजीदेखि सुकुमबासीको पहिचान, जग्गाको प्राविधिक नापजाँचलगायतका कार्यहरु भइरहेका छन् । नीति तथा कार्यक्रममा सुकुमबासीको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ जोड दिइएको छ ।
महानगरले पोखरा प्रवेश गर्ने तीनवटै नाकाहरुमा मिनी बसपार्क बनाउने योजना ल्याएको छ । त्यस्तै, विन्ध्यबासिनी बसपार्कको स्तरोन्नती गर्ने, बेगनास बसपार्कलाई थप व्यवस्थित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गरिरहेको सटल बसलाई थप बिस्तार गर्दै चढ्ने र झर्ने ठाउँहरुको व्यवस्थापन गरिने जनाइएको छ ।
महानगरले वर्षौंदेखि नीति तथा कार्यक्रममा पर्दै आएको पोखरा रिङ्गरोड निर्माणलाई यस वर्ष पनि निरन्तरता दिएको छ । उक्त रिङरोड निर्माणका लागि आगामी वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया सुरु गरिने उल्लेख छ ।
महानगरले फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडिएको नयाँ शहरी गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । जसका लागि खोलाको दायाँबायाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग, हरियाली बेल्ट र ढुङ्गे तटबन्द निर्माण गर्ने जनाएको छ । त्यसबाहेक फिर्के करिडोर क्षेत्रभित्र पोखरेली शैलीका विश्रामस्थल, खुला क्याफे, खुला पार्क र चौतारी निर्माण गरिने भएको छ । विकास साझेदारहरूसँगको सहकार्यमा यो परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने मेयर आचार्यले बताए ।
महानगरले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयनमा रहेको पातले छाँगोमा सिसा पुल निर्माण आयोजनालाई यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने जनाएको छ । ‘पातलेछाँगोमा पर्यटकीय क्यान्टिलिभर वाल्क निर्माण कार्य सुरु गरिनेछ’–मेयर आचार्यले भने ।
पोखरा महानगरपालिकाका प्रमुख तीन नाका प्रवेश तथा सीमा क्षेत्रमा धार्मिक पर्यटकहरूको सुविधाका लागि भान्छा घर तथा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनको व्यवस्था मिलाउने जनाएको छ । त्यस्तै, पोखरा सभागृह निर्माण कार्य शुभारम्भ गर्ने पनि उल्लेख छ ।
महानगरले संघ र प्रदेश सरकारसँगको साझेदारीमासर्वोच्च अदालतको आदेश अनुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने जनाएको छ । सो अनुसार ताल वरपर हरियाली क्षेत्र सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने मेयर आचार्यले बताए ।
महानगरले वर्षौंदेखि निर्माण गर्ने भनेर अलपत्र परेको बधशाला निर्माणलाई यसपटक पुनः नीति तथा कार्यक्रममा राखेको छ । मानबहादुर जिसी मेयर हुँदाताकादेखि बधशाला निर्माण गर्ने भनेर बजेट छुट्टिदासमेत आधा दर्जन वर्षदेखि बन्न नसकेको बधशाला निर्माण गर्ने मेयर आचार्यले बताए ।
महानगरले पर्यटनलाई पनि उत्तिकै प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ । उसले पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार बनाउने घोषणा गर्दै त्यसका लागि पर्यटन चलायमान गराउने उद्घोष गरेको छ । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन पोखराको पहिचान र प्रतिध्वनि झल्किने ‘पोखरा थिम सङ’ निर्माण गर्ने मेयर आचार्यले बताए ।
महानगरले पर्यटन चलायमान बनाउन पदमार्ग, हाइकिङ र प्रकृतिमैत्री पर्यटन पूर्वाधार विकासलाई तीव्रता दिने भएको छ । लामो समयदेखि सुस्त बनेको रोयल ट्रेकलाई पुनः सञ्चालनमा ल्याउन छिमेकी पालिकासँग सहकार्य गर्ने मेयर आचार्यले बताए । त्यस्तै, पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्रायङ्गल’ अवधारणामार्फत संयुक्त पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यी तीन पालिकाबीच ‘सिल्भर ट्रायङ्गल’ अवधारणाका लागि सहकार्य गर्ने यसअघि नै सम्झौता भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरका प्याराग्लाइडिङ, ड्रागन बोट रेस, इन्डुरो रेस, क्रस कन्ट्री रेस र माइस टुरिजम कार्यक्रममार्फत पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ । पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएको छ ।
महानगरले बेगनास्थलमा वाटर स्पोट्र्स परियोजना सञ्चालन तथा हर्पन खोला करिडोर निर्माणका लागि अध्ययन गर्ने पनि जनाएको छ ।
महानगरले लगानी जुटाउन लगानी सम्मेलन गर्ने भएको छ । यसअघि पनि गर्ने भनिएको सो सम्मेलन हुन सकेको छैन । ‘यस वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानी सम्मेलन गरिनेछ’–उनले भने ।
नयाँ बजारमा निर्माणधीन ग्रिन भेन्चर जो न यसै वर्षबाट शुभारम्भ गरिनेछ। कोइका र युएनडीपीको सहयोगमा सञ्चालित जिसिआर यु परियोजना अन्तर्गत रिसाइक्लिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी सिर्जना गरी आयआर्जनमा जोड्दै कुहिने फोहोरलाई समुदाय स्तरमा नै व्यवस्थापन गर्ने कार्यलाई व्यवस्थित गरिनेछ।
महानगरले वार्षिक ग्रीन अवार्ड सञ्चालन गर्ने भएको छ। जस अन्तर्गत सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रवद्र्धन गर्ने तीन विद्यालय तीन सरकारी कार्यालय ५ टोल विकास संस्था र पाँच आमा समूहलाई यो अवार्ड प्रदान गरिनेछ। पोखरामा मुस्कान सहितको पोखरा अभियान सञ्चालन गरिनेछ। जस अन्तर्गत सेवा लगायतका क्षेत्रमा क्रियाशील ट्याक्सीचालक होटल कर्मचारी व्यापारी र नागरिकलाई पर्यटकसँग मित्रवत व्यवहार गर्न प्रेरित गरिन्छ
पोखरा भ्रमणमा आउने पर्यटकलाई नागरिक स्तरबाट आवश्यक जानकारी सहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न ‘एक पर्यटक एक मित्र’ अभियान सञ्चालन गरिने मेयर आचार्यले बताए । महानगरले हरेक नागरिकले दैनिक १० मिनेट आफ्नो टोल पार्क वा सार्वजनिक स्थल सफा गर्ने कार्यलाई प्रोत्साहन गर्ने बताएको छ । मेरो कुकुर मेरो जिम्मेवारीको भावना अनुरुप महानगर भित्रका घरपालुवा कुकुरहरूको अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ४ असार पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका…







