सन्देश श्रेष्ठ
पोखरा, असार १७
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ को घटना कम्युनिष्ट सक्न रचिएको प्रपञ्च भएको दाबी गरेका छन् । नेकपा गण्डकी प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक प्रचण्डले भदौ २४ को घटनालाई प्रतिक्रान्ति भन्दै यो कम्युनिष्ट सक्न साम्राज्यवादी अमेरिकाले रचेको प्रपञ्च भएको आरोप लगाएका हुन् ।
गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भएको थियो । सुशासन, नेतृत्वमा पुस्तान्तरण र भ्रष्टाचारबिरुद्ध भदौ २३ गते शुरु भएको आन्दोलनमा सरकारले गोली चलाएर ७६ जनाको ज्यान गएपछि भदौ २४ गते संसद, राष्ट्रपती भवन, सर्वोच्च अदालतदेखि देशभरिका सरकारी कार्यालय तथा नीजि भवनहरुमासमेत तोडफोड र आगजनी भएको थियो । सोहि भदौ २४ घटनालाई नेकपा संयोजक प्रचण्डले प्रतिक्रान्तिको संज्ञा दिएका हुन् । साम्राज्यवादीहरु हिजो जनयुद्धका बेला हामीलाई मारेरै सिध्याउने षडयन्त्रमा थिए, उनले भने,‘त्यतिबेला हामी करीब करीब शान्ति सम्झौताको नजिक पुगिसकेका थियौं,त्यहिबेला अमेरिकी राजदूत भारतमै गएर शान्ति सम्झौता नगर्न धर्ना दिइरुहेका थिए ।’ त्यतिबेला साम्राज्यवादीलाई परास्त गरेर आफूहरुले शान्ति सम्झौता गर्दै शान्ति प्रक्रियामा आएको उनको भनाई छ । तर अहिले षडयन्त्रपूर्वक कम्युनिष्ट सक्ने आन्दोलन गराइएको उनको आरोप छ ।
प्रचण्डले जेनजी आन्दोलन पछि दरबार सफा गर्न लगाइएकोसमेत खुलाशा गरे । जेनजी आन्दोलनको भोलिपल्टदेखि भदौ २६ गते मध्यरातीसम्म ‘नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा भएको र त्यसको जानकारी आफूलाई पनि आएको उनको भनाई थियो । त्यसबेला देश असाधारण परिस्थितिबाट गुज्रिएको उनले बताए । ‘नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त स्थिति ?,उनले भने,‘जनता र नेताको सम्बन्ध कटेको छ । कार्यकर्तासँग पनि कटेको छ ।’ तर त्यस्तो परिस्थितिलाई पनि आफूहरुले सम्हालेर चुनावमा जाने वातावरण बनाएको बताए । तर चुनाव राजनीतिक दलहरुका लागि हुँदैछैन भन्ने बोध र ज्ञान त्यतिबेलै नेतृत्वलाई भइसकेको उनको दाबी छ । नेतृत्वलाई चुनावी परिणाम थाहा थिएन रत चुनावमा जान राजी भयो भन्ने भ्रममा नपर्नूस्,उनले भने,‘चुनाव भदौ २४ को घटनालाई वैधानिकता दिन हुँदैछ र त्यो हाम्रो लागि हुँदैछैन भन्ने बोध र ज्ञान थियो । तर देश अर्को दुर्घटनामा नजाओस् भनेर चुनावको विकल्प त्यसबेला हामीले देखेनौं ।’
प्रचण्डले साम्राज्यवादीहरुले अहिले राष्ट्र र जनतामाथि एकैपटक प्रहार गरिरहेको दाबी गरेका छन् । उनीहरुले राष्ट्रिय स्वाधिनता, देशको भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौमसत्ता तथा जनता, जनवर्ग, श्रमजिवी, मजदूर वर्गमाथि प्रहार गरिरहेको उनले बताए । भदौ २४ गते जे भयो, अहिले पनि त्यहि भइरहेको छ,उनले थपे,‘चाहे सुकुम्बासी, विद्यार्थी, मजदूर वा मधेशी जनतामाथि भन्नूस् ।’ उनले मधेशीको नाममा भोट लिएर तिनै मधेसी जनताको छातीमा अहिले प्रहार गरिरहेको आरोपसमेत लगाए ।
प्रचण्डले फागुन २१ गतेको चुनाव भदौ २४ कै परिघटनाको निरन्तरता भएको र त्यसमा आएको नतिजा पनि अपत्यारिलो र अविस्वासिलो भएको बताए । मतपत्र छापिएकै छन्, जनताले मत पनि हालेकै छन्, सुरक्षाकर्मीले सुरक्षा पनि दिएकै छन्,उनले भने,‘यस्तो सबै भइरहँदा चुनाव होईन कसरी भन्ने ?, हो भनौं भने अनौठो अनौठो परिघटना भएका छन् ।’ उनले कतिपय ठाउँमा चुनावी नतिजाबारे हास्यास्पद घटनाहरु पनि भएको दृष्टान्त दिए । उनका अनुसार तराईमा एक उम्मेदवारले आफूले आफूलाई दिएको मत पनि नभेटेको भनेर जानकारी गराएका थिए । अर्को एक ठाउँमा त रास्वपाका एक उम्मेदवारले आफ्नो ३, ४ सय मत आउने आँकलन गर्दै नेकपामा आउने वातावरण बनाउन आफ्नो पार्टीका एक उम्मेदवारलाई बताएको उनको दाबी छ । तर चुनावी परिणाममा भने त्यहि उम्मेदवार बिजयीहुँदा स्वयम् ती रास्वपाका उम्मेदवार झण्डै बेहोस् भएको कथा हाल्दै उनले भने,‘यी घटनाहरुबाट प्रष्ट हुन्छ कि चुनाव कस्तो भएको थियो भन्ने । यसको अध्ययन, अनुसन्धान र रहस्योद्घाटन हुँदैजाला ।’ उनले जेसुकै भए पनि चुनावी नतिजालाई स्वीकारेको बताए । त्यसैले सरकारलाई राम्रो गरे समर्थन र नराम्रो गरे खबरदारी गरिरहने स्पष्ट पारे ।
प्रचण्डले चाँडै राष्ट्रमुक्ति आन्दोलन गर्नेगरी बिचारको विकास गर्नुपर्ने बताए । देश अहिलेजत्तिको संकटमा कहिल्यै नभएको उनको भनाई छ । त्यसैले राष्ट्र बचाउने आन्दोलन जरुरी भएको बताउँदै त्यसका लागि सबैले एकपटक पार्टी बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । आगामी महाधिवेशनबाट आफू र माधव नेपाललाई नेतृत्वबाट हटाउन उनले कार्यकर्तालाई आग्रह गरे । कित म र माधवजीलाई सच्याउन सक्नुप¥यो, कित हामीलाई हटाउन तपाईंहरु लाग्नूस्,उनले भने,‘यत्रो भदौ २३ र २४ को षडयन्त्र भयो, संसद जल्यो, सर्वोच्च अदालत जल्यो, राष्ट्रपती भवन जल्यो, सयौं वर्षदेखि जनताले विकशित गरेका धरोहरहरु जले, त्यत्रो रणनीति दुस्मनले बनाउँदा हामी हेरेकाहे¥यै भयौं, यसको मुख्य जिम्मेवार हामी नै हौं ।’ उनले आफूले छाड्दा पार्टी रुपान्तरण हुने भए आफू छाड्न तयार रहेको उनको भनाई थियो । आगामी महाधिवेशन लटरपटर हुनेवाला छैन,उनले भने,‘विचारको विकास गरिन्छ, कार्यनीतिमा रमाउने बानी परेका हामी सबै सुध्रिएर रणनीति बनाईन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १७पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा…






