काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताएकी छिन् । एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासङ्घले आज आयोजना गरेको ‘आदिवासी महिला र कोभिड–१९’ सम्बन्धी राष्ट्रिय अन्तरक्रियाको उद्घाटन समारोहका उनले महिला हिंसा न्यूनीकरण गर्ने कानून धेरै भएको तर प्रभावकारी कार्यान्वयन नहुने महिला हिंसा न्यूनीकरणका कठिनाइ भएको सुनाइन् ।
नेपालमा संविधान र कानूनले महिला हिंसा नियन्त्रणसम्बन्धी धेरै व्यवस्था गरेको छ”, मन्त्री महतोले भनिन्, “तर प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा हामी चिन्तित छौँ, कार्यान्वयनको तहमा अति बढी ध्यान दिनुपर्ने जरुरी छ ।” शिक्षा र आर्थिक महिलाको पहुँचमा पुग्न सकेमा समाजमा महिलामाथि हुने हिंसा विस्तारै कम हुँदै जाने उनको भनाइ थियो ।
मन्त्री महतोले महिला मन्त्रालयले भर्खरै लैङ्गिक समानता नीति पारित गरी लागू गरेको र त्यो तीनवटै प्रदेशमा लागू गरिने जानकारीसमेत दिइन् । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संविधानको मौलिक हकमै महिलासम्बन्धी हकको व्यवस्था गरेको र त्यो हकका लागि महिलाले आफँैले आवाज उठाउनुपर्नेमा जोड दिइन् । उनले महिलाको तुलनामा प्रगति राम्रो हुँदै गए पनि समाजमा अझै पनि महिला हिंसाका घटनामा कमी आउनु नसक्नु चुनौतीको विषय रहेको बताइन् ।
यस वर्षको अन्तर्राष्ट्रिय दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने रहेको छ । कार्यक्रममा आदिवासी जनजातिसम्बन्धी एनिमेसन गरिएको भिडियोसमेत प्रस्तुत गरिएको थियो । उक्त भिडियोमा आदिवासी जनजातिले गर्दै आएका काम र तिनीहरुको परम्परागत पेशा गर्दा भोग्नुपरेका पीडाका विषय समेटिएको थियो ।(रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







