नेपाली कांग्रेस र एमाले बिचको सत्ता गठबन्धन भत्केपछि सातै प्रदेशका सरकारको दिनगन्ती सुरु भएको छ ।
कांग्रेसको नेतृत्व रहेका प्रदेशमा एमाले मन्त्रीहरुले राजिनामा दिने र एमाले नेतृत्व रहेका प्रदेशमा कांग्रेसका मन्त्रीहरु बाहिरिने क्रम देखिएको छ । यद्यपी गण्डकी प्रदेश सरकारमा भने अहिलेसम्म सरकारमा बस्ने र छाड्ने विषयमा छलफल नै भएको छैन । केन्द्रको स्पष्ट निर्देशन नभएका कारण सरकारका विषयमा कुनै निर्णय नभएको स्वयं सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् । प्रदेश स्तरमा कांग्रेस एमालेका नेताहरु आन्तरिक छलफलमा रहेकै बेला गण्डकी प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले दावी गरेको छ । गण्डकीमा प्रतिपक्षमा रहँदैं आएको नेकपाले मुख्यमन्त्रीको दावी गरेको नेकपा स्रोतले जनाएको छ । नेकपा तत्कालिन माओवादी केन्द्र, संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा सरकार बनाउन पटक पटक कांग्रेस एमालेलाई सहयोग गरेको बताउँदै, यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए ।
उनले भने ‘अघिल्ला पटक कांग्रेस र एमाले दुवैलाई मुख्यमन्त्री बनाउन सहयोग गर्यौं, तर यसपटक माओवादीलाई अन्याय गर्नुहुँदैन र हामीले नेतृत्व पाउनुपर्छ ।’ नेता चुमानले यस बिषयमा केन्द्रिय नेतृत्वलाई पनि जानकारी गराएको स्पष्ट पारे । उनले कांग्रेससँग मिलेर सरकार बनाउने संकेत पनि गरे । प्रदेशको गणितीय सङ्ख्याका कारण पनि एमालेसँग भन्दा कांग्रेससँग मिल्न सहज हुने उनको भनाई छ । तर एमालेसँगको सहकार्यको संभावना पनि उत्तिकै रहेको नेता चुमानले बताए । उनले गम्भीर छलफल नभए पनि कांग्रेस र एमाले दुवै दलका अधिकांश सांसद तथा नेताहरू आफुहरुलाई एक पटक मुख्यमन्त्री दिनुपर्छ भन्नेमा सकारात्मक रहेको बताए ।
यस बिषयमा केन्द्रको निर्देशन पछि मात्रै गम्भीर छलफल गरिने नेता चुमानले स्पष्ट पारे । राप्रपालाई फकाउन सके कांग्रेसलाई बाहिरै राखेर पनि सरकार बनाउन सकिने केही नेताहरुले बताउँदै आएका छन् । तर एमालेका नेता देवका पहारी भने यही नेतृत्वलाई नै निरन्तरता दिनुपर्ने पक्षमा देखिएकी छन् । उनले अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउन आवश्यक नरहेको बताउँदै,एमाले अहिले नै हतारो गर्ने पक्षमा नरहेको स्पष्ट पारिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३२ पोखरामा अवैध भरुवा बन्दुक राख्ने २ जना पक्राउ परेका…





