पोखरा फोटोग्राफर संघको रक्तदानमा ४६ युनिट संकलन, पोखरामा एबी पोजेटिभ रगतको अभाव


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८३ मा प्रकाशित




पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ ।

संघको ४५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले पहिलो रक्तदाता संघका संरक्षक गणेश छविलाई ब्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । रक्तदाता छविले ७३ औं पटक रक्तदान गरेका हुन् । लायन्स क्लव अफ पोखरा दर्पण र कैलास बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अधिकारीले मानव जीवनको महत्वपुण कार्य नै रक्तदान भएको बताउँदै, मानविय सेवाका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा १ सय किलोमिटर कोरा साईकल च्यालेञ्जमा सहभागी पोखराका साईकल यात्री जितेन्द्रमान शाक्यले पनि ९३ औं पटक रक्तदान गरेको संघले जनाएको छ । कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेल, फोटोग्राफर संघ, गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी,लायन्स क्लव अफ पोखरा दर्पणका अध्यक्ष अग्नीधर तिमिल्सीनालगायतले यस्ता कार्यक्रमले रगतको अभावलाई केही हदसम्म भए पनि न्युनीकरण गर्ने बताए । संघका अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नन्दकला पौडेल र संचालन सचिव लक्ष्मीपति पौडेलले गरेका थिए ।

कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।केन्द्रले पोखरामा एबी पोजेटिभ रगतको अभाव रहेको जनाएको छ । उसले नियमित रक्तदानका कार्यक्रम गर्न बिभिन्न संघ संस्थालाई अनुरोध समेत गरेको छ । यसैबिच संघले स्थापना दिवसकै अवसरमा पाँचौं फोटोग्राफी अवार्डको घोषणा समेत गरेको छ । बिभिन्न ९ विधामा उत्कृष्ट ९ जनालाई अवार्ड प्रदान गरिने संघका कोषाध्यक्ष अग्नीधर तिमिल्सीनाले जानकारी दिए । अवार्ड वितरण कार्यक्रम आगामी भदौंमा आयोजना गरिने संघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।