पोखरा, साउन १५
गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल गरेका छन् । गण्डकी प्रदेश सभाको शुक्रबार बसेको बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले सुनसरीको देवानगञ्ज घटनाबाट उत्पन्न परिस्थितिलाई मत्थर पार्नका लागि सामाजिक सद्भाव र शान्ति कायम गर्न अपिल गरेका हुन् ।

प्रदेश सभामा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई सम्हाल्न एकताको सन्देश दिदै धार्मिक सहिष्णुता फैलाउनुपर्नेमा जोड दिए । घटनालाई धार्मिक र साम्प्रदायिक बनाउनु हुँदैन र जहाँ घटना भयो त्यहिं सिमित गर्नुपर्छ,उनले भने,’हामीले हाम्रो देशको एकतालाई अक्षुण राख्न अपिल गर्नुपर्छ ।’ अफवाहको आधारमा आक्रोषित हुनु, बालबालिका कुटिनु लगायतका कार्य निन्दनीय भएको बताउँदै उनले यो संघीयता, लोकतन्त्र र गणतन्त्रमाथिसमेत दुःखद भएको बताए ।
अफवाहका आधारमा धार्मिक, सामाजिक अफवाह फैलाउन नहुने भन्दै पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारी आफैले भने अफवाह फैलाउने अभिव्यक्ति दिए । धनुषामा धारिलो हतियार प्रयोग गरिएका व्यक्ति पुजारी नभएको भन्दै प्रहरीले पुजारीलाई घाँटी रेटेर हत्या गरेको भनेर अफवाह नफैलाउन गरेको आग्रह विपरित अधिकारीले भने,‘धनुषामा गएराती एकजना पुजारीमाथि, रातीको समयमा, रेटीरेटीकन, प्रतिवाद गर्दागर्दै, रगतका छिटाहरु छन्, रगतको आहाल बनेको छ । उनलाई निर्घात रुपमा रेटेर मारिएको छ ।’ अधिकारीले अफवाहपूर्ण जानकारी संसदको रेकर्डमा रहनेगरी अभिव्यक्ति दिएपछि उनको सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ । यद्वपी अन्त्यमा उनले त्यस्ता घटना बढ्न नदिन आग्रह गर्दै भने,‘धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम गर्न हामीले धर्म गुरु, हाजी, ठूलठूला मक्का मदिनाबाट फर्किएकाहरु, बुद्ध गुरुहरु , ईशाई धर्मका गुरुहरुलाई अपिल गर्न आग्रह गर्नुपर्छ ।’
प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले पूर्वी नेपालको अशान्त वातावरणका बिच प्रदेश सभाले सकारात्मक सोंचका साथ राष्ट्रिय एकता र जनताको पक्षमा कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिकी सभापती दमयन्ती रुचालले देशको कायापलट गर्छु भनेर आएको रास्वपा नेतृत्वको सरकार बनेको चार महिना भइसक्दा पनि सुकुम्बासी, साना व्यापारी र गरीब जनताको बिचल्ली हुनु विडम्वना भएको बताईन् । दिन दुईगुणा, रात चारगुणा परिस्थिति बिग्रिदै गएको बताउँदै उनले भनिन्,‘प्रशासनिक निकायको अपमानजनक व्यवहार र हिंसात्मक वातावरण रोक्न म सरकारको ध्यानाकर्षण गराउँछु ।’ उनले महँगी, बेरोजगारी, वैदेशिक ऋण र करको भारले थिचिएर युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सुधार गर्न सरकारलाई आग्रह गरे ।
प्रदेश सभा सदस्य चम्पादेवी खड्काले धौलागिरी आयुर्वेदिक अस्पताल बागलुङको स्तरोन्नति, पूर्वाधार निर्माण र उपकरण थप्न माग गरिन । सांसद श्यामराजा महतले दुलेगौंडा–हर्कपुर सडकखण्ड पटक–पटक कुरा उठाउँदा पनि मर्मत नभई हिलाम्मे बनेकाले लापरवाह ठेकेदारसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्न सरकारसँग माग गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





