पोखरा, २७ साउन ।
लायन्स क्लब अफ पोखरा पिस टाउनकी अध्यक्ष आशा खत्री पहारीले कार्यभार सम्हालेकी छन् । ३ महिना अगाडि २०२६–२७ का लागि क्लवको अध्यक्षमा निर्वाचित पहारीले पोखरामा मंगलबार साँझ आयोजित कार्यभार हस्तान्तरण (ईन्स्टलेसन) तथा नया सदस्यको स्वागत (ईन्डक्सन) कार्यक्रमसँगै कार्यभार सम्हालेकी हुन् ।
डिष्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीसहित लायन्सका विभिन्न तहका लिडर्स तथा सदस्यहरूको सहभागितामा भएको संयुक्त समारोहमा लायन्स क्लब अफ पोखरा पिस प्याराडाइज, पिस जननी, पोखरा वर्किङ टुगेदर, पोखरा सिभिक, पोखरा पिस सिटी र पोखरा पिस टाउनलगायतका क्लब समारोहमा सहभागी थिए ।
कार्यभार सम्हाल्दै क्लवकी अध्यक्ष पहारीले आफ्नो कार्यकालमा थोरै कार्यक्रम तर अर्थपूर्ण कार्यक्रम गर्ने उद्घोष गरिन् । आगामी कार्यक्रम सेवामुखी हुने बताउँदै उनले भनिन्,‘धेरै कार्यक्रम होइन, अर्थपूर्ण परिवर्तन हुने कार्यक्रम गर्नेछौं ।’ उनले स्वास्थ्य, शिक्षा, वातावरण, रक्तदान, हंगर रिलिफ र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर क्लबले कार्यक्रम गर्ने उनको प्रष्टिकरण थियो । उनले “सेवामा जरा गाडौं, माया र सहकार्यबाट अघि बढौं” ”Rooted in Service, Growing through Caring and Sharing” भन्ने भावनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाईन् ।
क्लबले वर्षभरि स्वास्थ्य सचेतना, महिला स्वास्थ्य, आँखा तथा मधुमेह परीक्षण, सरसफाइ, विद्यालय सहयोग र भोकमरी न्यूनीकरणका कार्यक्रम सञ्चालन जनाएको छ । यसै क्रममा कम्तीमा ५० युनिटभन्दा बढी रक्त संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष पहारीले बताईन् ।
स्वच्छ खानेपानीको पहुँच बढाउने उद्देश्यले एक स्वास्थ्य चौकीमा पानी शुद्धिकरण गर्ने यूरोगार्ड जडान गर्न सहयोग गर्ने योजना पनि क्लबले बनाएको उनले उल्लेख गरिन् ।

पाँच महिला तथा युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
यस वर्ष महिला तथा युवाको सशक्तीकरणलाई क्लबले विशेष प्राथमिकता दिएको छ । “उनी पनि सक्छिन् ‘उसको आशा, सीप र भविष्य भन्ने अवधारणाअन्तर्गत महिला पुनस्र्थापना केन्द्रमा रहेका महिला तथा युवालाई स्वास्थ्य, स्वच्छता र उत्प्रेरणासँगै सीपमूलक तालिम प्रदान गरिने पनि जनाइएको छ । कम्तीमा पाँच जनालाई आत्मनिर्भर बन्न सहयोग गर्ने क्लबको लक्ष्य रहेको अध्यक्ष पहारीले बताईन् ।

वातावरण र शिक्षामा पनि लगानी
क्लबले संस्कृत विद्यालय बगरमा वृक्षारोपण गर्नुका साथै २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै, एनएलएफमा योगदान गर्ने र डिष्ट्रिक्टका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने योजना पनि सार्वजनिक गरिएको छ ।
क्लबको सदस्य संख्या बढाउने योजनाअन्तर्गत हालका १२ सदस्यमा थप ५ देखि ६ जना जोडेर १७ देखि १८ जनाको सक्रिय र एकताबद्ध टिम बनाउने लक्ष्य लिइएको अध्यक्ष पहारीले बताइन् ।
क्लबको प्रशासनिक पक्षलाई व्यवस्थित बनाउन वर्षभरि १२ वटा नियमित बैठक, ६ वटा बोर्ड बैठक र एक वटा जनरल बैठक आयोजना गरिनेछ। समयमै रिपोर्टिङ गर्ने र डिष्ट्रिक्टका गतिविधिमा सक्रिय सहभागिता जनाउने योजना पनि कार्ययोजनामा समेटिएको छ।

अध्यक्ष पहारीका लागि यो कार्यकाल केवल गतिविधिको सूची बढाउने अभियान होइन, समुदायमा देखिने परिवर्तन सिर्जना गर्ने अवसर हो। ‘उद्धेश्यसहितको सेवा गरौं, जीवन सशक्त बनाऔं र परिवर्तन ल्याऔं’ भन्ने मूल भावनाका साथ क्लबलाई अझ प्रभावकारी र परिणाममुखी सेवामञ्चका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







