पश्चिम नेपाल–पोखराबीच पर्यटन सहकार्यको प्रस्ताव

- भारतीय र नेपाली पर्यटक पोखरा पु¥याउने र विदेशी तथा स्वदेशी पर्यटक पश्चिम पठाउने प्रस्तावमा चर्चा, कनेक्टिभिटीमा जोड, पोखरासम्म सिधा बस र हवाई सेवा भए पर्यटक आउ–जाउमा सहज हुनेछ


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित




आपसी पर्यटकीय लाभका लागि धनगढी र कंचनपुरका ब्यबसायी पोखराका पर्यटन ब्यबसायीसँग सहकार्य गर्न तयार छन्।

‘जाउँ है पोखरा’ अभियानअन्तर्गत संचालित आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रबद्र्धन कार्यक्रमका अवसरमा पोखरा र यहाँका ब्यबसायीहरु पर्यटनबाट लाभ लिन मिलेर अघि बढ्न तयार भएका हुन्।

यसका लागि सबै भन्दा पहिला नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग ब्यबसायीको छ। कोभिड–१९ का कारण लामो समयदेखि भारतसँगको सीमा नाका बन्द हुँदा भारतीय पर्यटक चाहेर पनि नेपाल भ्रमण गर्न पाएका छैनन्।

पश्चिमका ब्यवसायीहरुले यहाँबाट सहज रुपमा भारतीय र नेपाली पर्यटक पोखरा पु¥याउने र पोखरेली ब्यवसायीले विदेशी तथा स्वदेशी पर्यटक यता पठाउने प्रस्तावमा समेत चर्चा गरिएको थियो।

यसका लागि ब्यवसायीले कनेक्टिभिटीमा जोड दिएका छन्। पोखरासम्म सिधा बस र हवाई सेवा भए पर्यटक आउ–जाउमा सहज हुने उनीहरुको भनाई छ। यही फागुन ७ गतेदेखि पोखरा नेपालगंज रुटमा सीता एयरले हप्तामा दुई दिन चार्टर्ड उडान थालेको छ। यस्तै, उडान धनगढीबाट सुरु गर्न पहल गरिने ब्यवसायीले बताएका छन्। नाका खुले बुद्ध एयरले पनि त्यस्तो उडान थाल्ने आश्वासन सुनाएको छ।

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै आयोजक पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पश्चिम नेपाल र पोखराबीच हवाई सेवा विस्तार र नियमित गर्न निजी क्षेत्रले पहल अगाडि बढाउनुपर्ने बताए। कोभीड–१९ बाट थला परेको पर्यटनलाई जगाउन पश्चिम नेपालमा प्रबद्र्धन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

झण्डै तीन महिना अघि संघले पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै प्रबद्र्धन कार्यक्रम आयोजना गरेको थियो। संघको सल्लाहकार समितिका संयोजक हरि शर्मा गैह्रेले आन्तरिक पर्यटकको महत्व सरकारले बल्ल बुझ्न थालेको भन्दै पर्यटनलाई अगाडि बढाउन ब्यबसायीबीच सहकार्य जरुरी भएको बताए। ब्यबसायीबीच सम्बन्ध विस्तार र कनेक्टिभिटीमा जोड दिन आफूहरुले कार्यक्रम लिएर आएको संघका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदश्य भरतराज पराजुलीले जानकारी दिए।

होटल ब्यबसायी संघ धनगढीका अध्यक्ष कलम बमले सिमा नाका खोल्ने विषयलाई प्राथमिकता दिनुपर्ने भनाई राखे। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने बताए।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई सुदुर पश्चिमका प्रमुख भोजराज पाठकले हवाई र सडक यातायात पर्यटनका लागि उत्तिकै आबश्यक पर्ने बताए। कन्चनपुरमा आयोजित कार्यक्रममा होटल ब्यबसायी महांघका पर्यटन सचिव एबं पर्यटन पुनःउत्थान समितिका सह–संयोजक परमानन्द भण्डारीले पर्यटन विकासका लागि प्याकेजहरु बनाएर अगाडि बढ्नुपर्ने सुझाव राखे । होटल ब्यबसायी संघ कन्चनपुर अध्यक्ष जगदीशचन्द्र भट्टले शुक्लाफाँटलगायत पर्यटकीय सम्पदाले यस क्षेत्रको महत्व बढाएको बताए।

उद्योग वाणिज्य संघ कंचनपुरका उपाध्यक्ष हेमराज जोशी, पत्रकार मोहन विष्टलगायतले कार्यक्रममा भनाई राखेका थिए। नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा संचालित चारदिने प्रबद्र्धन कार्यक्रम सोमबार सकिंदैछ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलको पनि उपस्थिति रहेको छ। कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघका महासचिव गणेशराज पहारीले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।