काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो ।
रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गरेकोमा सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी) बीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा निर्वाचन आयोगमा दल दर्ता भएकोविरुद्ध निवेदन दायर गरेका थिए ।
अध्यक्ष कट्टेलले आयोगमा त्यसविरुद्ध उजूरी दिए पनि ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







