‘एल्लो रोज डे’को अवसरमा जोन्टा क्लव अफ पोखराद्वारा ३ नारी सम्मानित


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित




जोन्टा क्लव अफ पोखराले अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा ३ जना नारीलाई सम्मान गरेको छ । क्लवले अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर हरेक वर्ष मनाउँदै आएको ‘एल्लो रोज डे’ को अवसरमा महिलाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने ३ जना नारीलाई सम्मान गरेको हो । शनिबार दिनभर आयोजित कार्यक्रममा क्लवले सेन्ट मेरिज स्कुलमा प्राध्यापनरत सिस्टर क्लोटिल्डो, महिला प्रशिक्षक ईश्वरी गुरुङ र फोहोरमैला ब्यबस्थापनमा भूमिका खेल्दै आएकी पार्वती अधिकारी पौडेललाई सम्मान गरेको हो ।

सिस्टर क्लोटिल्डोलाइ जीवनभर बालिका शिक्षामा समर्पित भएको, ईश्वरी गुरुङलाई महिला सशक्तिकरणका लागि भूमिका खेलेको तथा पार्वती अधिकारी पौडेललाई पोखराका हस्पिटल तथा क्लिनिकहरुबाट निस्केको फोहोरजन्य पदार्थको ब्यबस्थापनमा रोलमोडल भूमिका खेलेको भन्दै सम्मान गरिएको क्लवकी महासचिव रोजिना रञ्जित बिजुक्छेले जानकारी दिईन् ।

त्यस्तै क्लवले जेएमके अवार्डका लागि क्लवबाट बिजेता हुँदै अन्र्तराष्ट्रिय प्रतिष्पर्धामा सहभागिता जनाएकी प्रतिमा कँडेललाई नगद २० हजारसहित पुरस्कृत गरिएको महासचिव बिजुक्छेले बताईन् ।

‘एल्लो रोज डे’को अवसरमा क्लवले महिलाहरुको बाक्लो सहभागितामा जोन्टा बजार सञ्चालन गरेर देशभरबाट सहभागि भएका २५ वटा प्रोडक्टको प्रोमोसनसमेत गरेको थियो । जहाँ देशभरका महिलाहरुले उत्पादन गरेका अचार, हस्तकलाका सामग्रीदेखि औद्योगिक उत्पादनका सामानहरुको प्रदर्शन गरिएको थियो ।

सो अवसरमा क्लवले फन्ड संकलनसमेत गरेको महासचिव बिजुक्छेले जानकारी दिईन् । उक्त फन्डमा संकलन भएको रकमबाट वर्षभरि नै बालिका शिक्षा, बाल विवाह न्यूनिकरण र त्यसको अन्त्य तथा महिला हिंसा न्यूनिकरण र अन्त्यका लागि कार्यक्रम गरिने उनले बताईन् । क्लवले महिला सशक्तिकरणका लागि यहि हप्ता ६० जना महिलाहरुलाई निःशुल्क मन्टेश्वरी तालिमसमेत प्रदान गर्ने उनको भनाई छ ।

क्लवकी उपाध्यक्ष मोनिका थापाले स्वागत गरेको कार्यक्रममा महासचिव रोजिनामा रञ्जित बिजुक्छेले धन्यवाद ज्ञापन गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।