पोखराका मदिरा व्यवसायीलाई कर तथा अन्तःशुल्कसम्बन्धी प्रशिक्षण


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०८३ मा प्रकाशित




पोखराका मदिरा व्यवसायीले राज्यलाई सघाउँदै मर्यादित व्यवसायमा जोड दिएका छन् ।

मदिरा व्यवसायी समिति, कास्कीले आयोजना गरेको कर तथा अन्तःशुल्कसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीले व्यवसायलाई पारदर्शी, मर्यादित र कानुनी दायराभित्र रही सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव प्रसाद ढुङ्गानाले व्यवसायीहरूले राज्यको कानुनी परिधिभित्र रहेर कर र अन्तःशुल्क चुक्ता गर्नुपर्नेमा जोड दिए । उनले मदिरा व्यवसाय संवेदनशील क्षेत्र भएकाले कानुनी जटिलताहरूबाट बच्न र राजश्व संकलनमा राज्यलाई पूर्ण सहयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे । कर प्रशासन व्यवसायीहरूको समस्या समाधान गर्न सधैं तत्पर रहेको समेत उनको भनाइ थियो।

समिति कास्कीका अध्यक्ष कृष्णबहादुर भाटले व्यवसायीहरू सधैं राज्यलाई कर तिर्न तयार रहेको तर कर प्रशासन तथा अन्तःशुल्कसम्बन्धी करलाई सरकारले सरलीकृत गरिदिनुपर्ने माग राखे । उनले मदिरा व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कामलाई पनि संस्थाले निरन्तरता दिइरहेको स्पष्ट पारे । मदिरा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोविन्द केसी तथा मदिरा व्यवसायी समितिका पूर्वअध्यक्ष तारानाथ ढुङ्गानाले मदिरा व्यवसाय क्षेत्रले व्यहोर्नुपरेका समसामयिक समस्या, नीतिगत अस्पष्टता र कर प्रणालीका व्यावहारिक चुनौतीहरूका बारेमा आफ्ना धारणाहरू राख्दै व्यवसायीहरूको एकता र व्यवसायको शुद्धीकरणमा जोड दिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत धर्मेन्द्र शाह र कम्प्युटर अधिकृत सुदिप रेग्मीले चालु अर्थिक वर्षको कर नीति र मदिरा व्यसाय संचाल गर्दा अपनाउनुपर्ने प्रकृयाको वारेमा जानकारी दिएका थिए । ऋषि न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गाना र सञ्चालन समितिका महासचिव श्रीराम पोखरेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।