बाढी प्रभावित क्षेत्रमा पोखरा महानगरपालिकाद्वारा टोली परिचालन,उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा,


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित




भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले टोली नै परिचालन गरेको छ ।

बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले टोली परिचालन गरेको हो । टोलीमा पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी र स्वास्थ्यकर्मी सहभागी छन् । नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख आचार्यले बताए ।

यसैबीच, पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको नगर प्रमुख आचार्यले बताए । उनले विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा पोखरा महानगरपालिका सदैव रहने समेत बताए ।

महानगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा स्थानीय तहको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।