रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बिनासकारी बाढीपछि पोखरामा संकलित शव मध्ये हालसम्म पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पुर्याएर जमिनमुनि व्यवस्थापन गरिएको छ ।
नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । पहिचान नभएका मध्ये ७८ वटा शव सामुहिक रुपमा पोखरा १६ जौवारी स्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरा क्षेत्रको जमिनमा व्यवस्थापन गरिएको हो । शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी गुरुङले बताए । उनले भने, “डिएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम गरिएको छ ।” डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको गुरुङको भनाइ छ ।
पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार नै व्यवस्थापन गरिएको प्रशासनले स्पष्ट पारेको छ ।अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ । शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरु तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । शवको खोजीमा आएका आफन्तहरुलाई खाना र बासको व्यवस्था मिलाइएको प्रजिअ गुरुङले बताए । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ ।
बाढीले बगाएर शव विभिन्न जिल्लामा पु¥याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको जनाइएको छ । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत…







