रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ ।
यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय अनिता तामाङ, विदुर नगरपालिका बेत्रावतीका ३३ वर्षीया अष्टलक्ष्मी डङ्गोल र सोही ठाउँका ३२ वर्षीया सोनिया डङ्गोलको शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई शव बुझाइएको हो ।
यसअघि १४ पुरुष र एक महिलाको शव सनाखत भइसकेको थियो । पोखरामा पहिचान भएकामा चितवनका ३६ वर्षीय सत्यसुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिमका ३७ वर्षीय यादव भण्डारी, इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी र धादिङ घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय सञ्जोग घर्ती रहेका थिए ।
यसैगरी नुवाकोटकी ५६ वर्षीया शारदा ढकाल, गोरखाका ५५ वर्षीय यमबहादुर थापा, पाल्पा घर भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षीय दीपेन्द्र विष्ट, नुवाकोटका पाँच वर्षीय प्रतिन्स तामाङ, रसुवाका प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरीका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकका ४६ वर्षीय डीकबहादुर कायस्थ, गोरखाका ४० वर्षीय केदार पण्डित र काठमाडौँका ३४ वर्षीय राजु सुनारको शव पहिचानपछि आफन्तले बुझेको सहायक प्रजिअ बरालले जानकारी दिए ।
भोटेकोशी बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा फेला परेका १०२ शवलाई पहिचान तथा कानुनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







