एभरेस्ट मिडिया प्रालिद्वारा श्रमिक महिलाको सम्मान : तरकारी, फलफूल खरिद गरेर अन्तरक्रिया आयोजना


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित




एभरेस्ट मिडिया प्रालिले सोमबार श्रमिक महिलाको सम्मानमा उदाहरणीय कार्य गरेको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा डोकोमा बेच्न राखेका तरकारी तथा फलफुल खरिद गर्नुका साथै उनीहरुलाई अन्तरक्रियामा सहभागि गराउँदै समाजमा उदाहरणीय कार्य गरेको हो । कार्यक्रमको एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

एभरेस्ट मिडिया हाउसका नारी दिवसको अवसरमापनि श्रम गर्न बाध्य भई डोकोमा तरकारी, साग, फलफुल, मकैलगायतका सामान खरिद गरेको प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न टोलका महिला दिदीबहिनीहरुको पनि सहभागिता रहेको उनले बताए । ‘दिवसको दिन कोहिपनि महिलाले श्रम गर्न बाध्य नहोस् भन्ने उद्धेश्यले उहाँहरुको सहजताका लागि हामीले सामान खरिद गरेका हौं’–उनले भने । साथै आवाज विहीन महिला दिदी बहिनीहरुको आवाज सुन्न र सुनाउन अन्तरक्रिया गरिएको उनले बताए । ‘आवाज विहीनहरुको आवाज बन्ने हाम्रो प्रयत्न हो’–उनले भने ।

एभरेस्ट एफ.एम. ९३ मेगाहर्जबाट हरेक दिन अपरान्ह साढे १२ बजेदेखि साढे एक बजेसम्म प्रशारण हुने गरेको कार्यक्रम मातृदेवो भवः मा श्रमिक महिला दिदी बहिनीहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा सहभागी महिलाहरुले वर्षमा एक दिन आउने दिवसपनि आफूहरुको लागि निरस बन्ने गरेको बताए । महिला हिंसा, वलात्कार र श्रमको सम्मान नहुँदा आफूहरुको दुःख ज्यूँका त्यूँ रहेको उनीहरुको भनाई छ । उनीहरुले सामाजिक न्याय र समानतामा आधारित रहँदै आर्थिक, सामाजिक र राजनीतिक अधिकार नदिएसम्म महिला अधिकार नारामा सिमित हुने उनीहरुले बताए । साथै उनीहरुले राजनीतिक दलहरुले महिलालाई अधिकार दिलाउनु भन्दा भोट बैंकको रुपमा प्रयोग गर्ने तर अधिकार दिलाउन भूमिका नखेलेको बताए ।

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष तथा तमु धीँ नेपालका संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङको अध्यक्षता, प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले स्वागत तथा मातृदेवो भवः कार्यक्रमकी प्रस्तोता रेजिना कटुवालले सञ्चालन गरेको कार्यक्रममा जनहित महिला समूह कालिमाटीबाट प्रभा पराजुली, मधु पौडेल, उर्मिला पराजुली र दुर्गा थापाको सहभागिता रहेको थियो ।

त्यस्तै, सृजनशिल आमा समूह (नागवेली मार्ग) का चम्पा रानाभाट, सबु खाँण र जीवनी श्रेष्ठ, शिबभञ्ज्याङ आमा समूहबाट सोविता थापा लगायतको सहभागिता रहेको थियो । यसैगरी, रामकृष्ण टोल मिसा पुचःबाट एलिना लिगल, जुलीआना श्रेष्ठ र मीना लिगल, विभिन्न व्यवसायमा संलग्न महिलाहरु सीता लामा, मुना लामा, रेनु घले, माया वि.क., लालुमाया कार्की लगायतको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।