छाङ्गेली नेवाः खलको रक्तदान, ५७ युनिट संकलन


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित




छाङ्गेली नेवाः खल समाजले आयोजना गरेको रक्तदानबाट ५७ युनिट सकंलन भएको छ ।

पितृ उद्धार पर्व गाइजात्राको अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए । कार्यक्रमको नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छाङ्गेली नेवाः खल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले समाजले नेवारी संस्कार तथा संस्कृतिको संरक्षणमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्कार–संस्कृतिको संरक्षणसँगै सामाजिक सेवाका कार्यमा सक्रिय रहन आग्रह गरे ।

समाजका संस्थापक अध्यक्ष तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा तथा व्यवसायका लागि पोखरा बसाइँसराइ गरी आएका छाङ्गेलीहरूको साझा संस्थाका रूपमा छाङ्गेली नेवा खल स्थापना गरिएको बताए । समाजले विभिन्न सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्यसमेत गर्दै आएको उनले बताए ।पितृ उद्धार कार्यमा समाज विशेष रूपमा सहभागी हुँदै आएको उल्लेख गर्दै मल्लले पितृ उद्धारका लागि आयोजना हुने गाइजात्रा महोत्सवको अवसर पारेर श्रीकृष्ण जन्माष्टमीका दिन रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको समाजले यस वर्ष रसुवा बाढीबाट घाइते भएकाहरूको उपचारमा सहज होस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेको उनले बताए ।

समाजका अध्यक्ष भरत कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिवलाल मल्ल, नेवा मिसा पुच कास्कीकी अध्यक्ष संगीता बज्राचार्यलगायतले रक्तदानको महत्व तथा समाजले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे धारणा राखेका थिए ।कार्यक्रममा प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।