गण्डकी प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार ८चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई गण्डकी प्रज्ञा साहित्य सम्मान-२०८३’ अर्पण गरेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले नगद रु २५,००० (पच्चीस हजार) सहित सम्मान अर्पण गरेको हो। स्वास्थ्य अवस्था कमजोर रहेका अधिकारीलाई उनकै निवास तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका–४, जफदीमा पुगेर सम्मान अर्पण गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

स्रष्टा अधिकारीको सम्मानमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपाने, सदस्य–सचिव मनकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, प्राज्ञहरू प्रा.डा. ईश्वरचन्द्र वाग्ले, बाबुराम बस्ताकोटी, टुकादेवी आचार्य, भूपेन बानियाँ, व्यास प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, प्राज्ञहरू हरिसिंह गुरुङ, देवी बस्नेत, नारायणी अधिकारी, म्याग्दे साहित्य समाजका अध्यक्ष नारायण खनाललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले दोसल्ला, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले सम्मान–पत्र तथा सदस्य–सचिव मनकुमार श्रेष्ठले नगद रकम हस्तान्तरण गरेका थिए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जीवनभर निःस्वार्थ भावले समाज रूपान्तरणका लागि कलम चलाएका स्रष्टा चन्द्रमणि अधिकारी हाल विभिन्न रोगसँग संघर्ष गरिरहेको अवस्थामा प्रतिष्ठानले घरमै पुगेर नगदसहित सम्मान गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताए । उनले भने, “यस्तो अवस्थामा गरिएको सम्मानले हामीलाई निकै हर्षित बनाएको छ। यो कार्य हाम्रा लागि पनि सिकाइको प्रारम्भ हो।”
त्यसैगरी, प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले चन्द्रमणि अधिकारी द्रुतगतिमा कलम चलाउन सक्ने सिर्जनशील क्षमता भएका स्रष्टा भएको बताउँदै जीवनभर लोभलालचमा नफसी आफ्नो कर्मप्रति अडिग रहेकै कारण प्रतिष्ठान उनको आँगनसम्म पुगेर सम्मान गरेको बताए । उनले भने,“तपाईंले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिनुभएको छ। तपाईंहरूजस्ता कर्मठ सृजनाकारकै साधना र योगदानले हामीलाई थप ऊर्जा र प्रेरणा मिलेको छ।”
सम्मानित स्रष्टा चन्द्रमणि अधिकारीका साहित्यिक सिर्जनाहरू साहित्यकार भवानी अधिकारी तथा व्यास प्रज्ञा–प्रतिष्ठानका सदस्य नारायणी अधिकारीले प्रस्तुत गरे ।
कार्यक्रमको सञ्चालन प्राज्ञ शान्ता बास्तोलाले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेसनल प्याब्सन, कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार…





