धादिङकी रसिला तामाङले व्यास नगर महिला हाफ म्याराथन जितेकी छन्।
तनहुँको व्यास नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको महिला हाफ म्याराथनमा रसिला पहिलो बनेकी हुन्।
दमौलीको व्यासगुफादेखि तनहुँसुरसम्मको करीब २१ किलोमिटर दूरीको दौड रसिलाले १ घण्टा ४९ मिनेटमा पूरा गर्दै म्याराथन जितेकी हुन्। रसिलाले म्याराथन उपाधिसँगै ४१ हजार ७७ रुपैयाँ पुरस्कार जितिन्।
त्यस्तै हाफ म्याराथनमा खोटाङकी प्रिया राई दोस्रो, सोलुखुम्बुकी अनिता राई तेस्रो बने। प्रियाले निर्धारित दूरी १ घण्टा ४९ मिनेट र १ सेकेण्डमा पूरा गरिन् भने अनिताले १घण्टा ५५ मिनेट ३२ सेकेण्डमा निर्धारित दूरी पूरा गरे।
त्यस्तै, नेपाली सेनाकी विशेषता ऐडी चौथो, भानु माध्यामिक विद्यालयकी छात्रा नम्रता गुरुङ पाँचौँ, ऋिषिङकी सीता रानाभाट छैटौँ, भक्तपुरकी आइसा श्रेष्ठ सातौँ र ओखलढुङ्गाकी पद्मकुमारी सुनुवार आठौँ भइन्।
दोस्रो बनेकी प्रियाले ३१ हजार ७७ रुपैयाँ र तेस्रो बनेकी अनिताले २१ ह्जार ७७ रुपैयाँ पुरस्कार जिते। शान्त्वना पुरस्कार जित्ने विशेषता, नम्रता, सीता, आइसा र पद्मकुमारीले समान ११ हजार ७७ रुपैयाँ पुरस्कार हात पारे।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी लगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।
नगरपालिकाले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन क्षेत्रको विकास गर्ने उद्देश्यले पहिलो पटक महिला हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेको हो।
केही समयअघि मात्रै नगरपालिकाले व्यास–५ मानहुँकोटदेखि शहीदग्राम पुलिमराङसम्मको करीब ४२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







