पोखरा-दुबईको हवाई भाडा काठमाडौंभन्दा ५ हजार सस्तो, अझै घटाउन व्यवसायीको सुझाव


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २३

पोखरा–दुबई उडान हुने समय नजिकिदो छ । फ्लाई दुबईले २३ सेप्टेम्बर अर्थात असोज ७ गतेदेखि पोखरा–दुबई उडान शुरु गर्दैछ । पर्यटनको राजधानी पोखराबाट नियमित अन्र्तराष्ट्रिय फ्लाईटको प्रतिक्षा भइरहँदा हुने यो रुट दीगो हुने अपेक्षा पोखरेलीको छ । त्यसैले पोखरेलीहरु चाहन्छन् कि यो रुट सस्तो भईदेओस् ।

पोखरेलीको चाहना अनुसार नै फ्लाई दुबईले पोखरा–दुबई फ्लाईटको फेयर सस्तो बनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न फ्लाई दुबईले यस रुटमा काठमाडौंभन्दा फेयर सस्तो हुने फ्लाई दुबईका नेपालस्थित महाप्रवन्धक (जिएम) नवराज शाहीले सोमबार पोखरामा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीले आयोजना गरेको कार्यक्रममा बोल्दै जानकारी दिए । एक सय ५० डेष्टिनेसनमा पोखराबाट हुने फ्लाईट काठमाडौंभन्दा कम्तिमा पनि पाँच हजार सस्तो हुन्छ,उनले भने,‘हामीले हाम्रो वाचा पुरा ग¥यौं, अब वाचा पूरा गर्ने पालो तपाईंहरुको ।’ उनले सस्तो टिकट भएको अवसरमा धेरै टिकट बेचेर पोखरा–दुबई फ्लाईट दीगो गराउने वाचा पूरा गर्नुपर्ने उनको भनाई थियो । जिएम शाहीले पोखरा–दुबई उडानमा एकजना मात्रै यात्रु भए पनि उडान हुने बताए । यो हाम्रो सेड्यूल फ्लाईट हो,उनले अगाडि थपे,‘यहाँबाट एक जना मात्रै भए पनि फ्लाईट हुन्छ, यताबाट यात्रु कम भए पनि दुबईबाट आउने भएकाले फ्लाईट तलमाथि हुँदैन ।’

तर पोखरेली पर्यटन व्यवसायीहरुले भने पोखरा–दुबई उडान थप सस्तो बनाउन आग्रह गरे । काठमाडौंभन्दा सस्तो भनिए पनि पर्यटकहरुले यो रुटको फेयर महंगो भन्ने गरेको भन्दै उनीहरुले तोकिएको टिकट मूल्यमा पुर्नबिचार गर्न सुझाव दिए ।

नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई फ्लाईट दीगो बनाउनका लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए । यो रुटमा हुन लागेको उडान हाम्रो लागि अवसर हो,उनले भने,‘अवसरलाई छोप्न सकेनौं भने अवसर गुम्छ, त्यसैले यसमा आउने चुनौतिसँग लड्न तयार हुनुपर्छ ।’ यो रुटमा हुने उडान दीगो भयो भने पोखराले मात्र नभई देशले नै फाईदा लिनसक्ने उनको भनाई थियो । ‘त्यसैले हामी सबै यसलाई सफल बनाउन लाग्नुपर्छ, म पनि नेपाल पर्यटन वोर्ड र सरकारसँग समन्वय गर्न सघाउँछु’–उनले भने । उनले पोखरा दुवै उडान सफल बनाउनको लागि आआफ्नोबाट सहयोग गर्न सम्पूर्ण पोखरीलाई नेपाल पर्यटन बोर्डको तर्फबाट आग्रह गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखरा–दुबई उडान पोखराको पर्यटनको हिसाबले मात्रै नभई देशकै समृद्धिको हिसाबले हेरिनुपर्ने बताए । यहाँबाट हुने उडान उडानलाई पूरै विश्वमा पुग्ने द्वारका रुपमा हेरिनुपर्छ,उनले भने,‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ, तर यो कतिलाई थाहा छ ? विश्वका धेरै मुलुकका नागरिकलाई यो सुन्दर गन्तव्यबारे जानकारी नै छैन । यसको प्रोमोसनका लागि हामीले खासै गरेको पाईएको छैन, यतातिर ध्यान दिनुपर्छ ।’

नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष संगीता पौडेलले वर्षौंदेखिको पोखरेलीको सपना पूरा हुने चरणमा पुगेको बताईन् । त्यसैले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने उनको भनाई थियो ।

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य वासु त्रिपाठीले यो रुटमा हुने उडानप्रति पोखरेलीको आशा र अपेक्षा ठूलो रहेको बताए । यसलाई जसरी पनि सफल बनाउनुपर्ने भन्दै उनले थपे,‘त्यसका लागि पोखरेलीको शतप्रतिशत साथ र सहयोग रहन्छ ।’

होटल संघका प्रथम उपाध्यक्ष राजेश पहारीले फेयर महंगोहुँदा यात्रुले टिकट लिन गाह्रो मानेको गुनासो गरे । पोखराबाट हुने फ्लाईटका लागि सरकारले हवाई ईन्धनमा १ सय डलर छुट दिनेदेखि विमान उडान र अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा छुट दिएको छ,उनले भने,‘तर भाडाचाहिं किन महंगो ? यसमा फ्लाई दुबईले पुर्नबिचार गरोस् ।’ उनको भनाईमा अन्य व्यवसायीले पनि सहमती जनाएका थिए ।

कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वीएसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले प्रस्तुती गर्दै पोखरा–दुबई उडानलाई दीगो बनाउन पोखरेलीको सहयोग आवश्यक रहेको बताए । यो शुरुवात मात्रै हो,उनले भने,‘यो दीगो भयो भने अन्य एयरलाईन्स पनि आकर्षित हुन्छन् ।’

सेप्टेम्बर २३ देखि उडान शुरु गर्ने फ्लाई दुबईले एक महिना दैनिक एउटा फ्लाईट गर्ने उडान तालिका बनाएर अनुमति लिइसकेको छ । सन २०२७ सम्मकै लागि टिकट बुकिङ गरिरहेको फ्लाई दुबईका नेपाल जनरल म्यानेजर नवराज शाहीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।