लेखनाथ, २३ भदौ ।
लेखनाथ नगरपालिका पुनर्स्थापनाको मागसहितको अभियानले गति लिएको छ। साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरूले विशेष नगरसभा बैठक बोलाउन औपचारिक प्रक्रिया अघि बढाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित विशेष नगरसभा बैठक बोलाउन माग गर्दै महानगर प्रमुख धनराज आचार्यसमक्ष पत्र बुझाइएको हो।
विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव नगरसभाबाट पारित गरी सम्बन्धित निकायमार्फत केन्द्र सरकारसमक्ष पठाउनुपर्ने माग पत्रमा गरिएको छ।
पत्र बुझ्दै महानगर प्रमुख आचार्यले विषयमा कानुनी परामर्श लिई आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने र मागअनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने प्रतिबद्धता जनाएका छन्।
‘कास्कीमा कम्तीमा १० पालिका आवश्यक’
महानगर प्रमुख आचार्यले कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्ने धारणा समेत राखेका छन्। कास्कीमा हाल पाँचवटा स्थानीय तह रहेकामा त्यसलाई बढाएर कम्तीमा १० वटा पालिका बनाउन पहल गरिरहेको उनले बताएका छन्।
धेरै स्थानीय तह हुँदा स्थानीयस्तरमा बजेट तथा स्रोतसाधनको पहुँच र सुनिश्चितता बढाउन सहयोग पुग्ने उनको भनाइ छ। सोही अवधारणाअनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकारसमक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिएका छन्।
‘समृद्ध लेखनाथका लागि छुट्टै नगरपालिका आवश्यक’
लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक शालिग्राम पौडेलले लेखनाथ क्षेत्रको दीर्घकालीन र समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक रहेको बताएका छन्।
उनले स्थानीय आवश्यकता, भौगोलिक अवस्था, जनसंख्या तथा विकासका सम्भावनालाई मध्यनजर गर्दै लेखनाथ नगरपालिकाको पुनर्स्थापना नै उपयुक्त विकल्प भएको दाबी गरे।
पौडेलले भने, “समृद्ध विकास र समृद्ध लेखनाथ निर्माणका लागि लेखनाथ नगरपालिकाको विकल्प छैन।”
लेखनाथ नगरपालिका पुनर्स्थापनाको मागसँगै विशेष नगरसभा बोलाउने प्रक्रिया अघि बढेपछि अब महानगरपालिकाको नगरसभाले कस्तो निर्णय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् ।…





