पोखरामा थप पाँच शवको जमिनमुनि व्यवस्थापन


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित




भोटेकोशी त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ ।

पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका १६, जौवारीस्थित गारतरोको वनक्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२ शवमध्ये यसअघि ७६ शवलाई सोही स्थानमा जमिनमुनि व्यवस्थापन गरिएको थियो । एक्काइस शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएको बताए । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरीे व्यवस्थापन गरिएको उनको भनाइ छ । अहिलेसम्म पोखरामा २५ जना आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि उहाँहरूका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको हो । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको छ । बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।