पोखरामा भोलि ५ कम्युनिष्ट घटकका नेताहरु एउटै मञ्चमा उभिदै


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २६

पोखरामा भोलि ५ बामपन्थी दलका नेताहरु एउटै मञ्चमा उभिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले कास्कीमा रहेका ५ कम्युनिष्ट घटकका नेताहरुलाई एउटै मञ्चमा उतार्न लागेको हो । ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुलाई एउटै मञ्चमा उतार्न लागेको आयोजक पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतीवडाले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रुपमा रहनेछन् । त्यस्तै एमाले सचिव खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सचिव देवेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका केशबहादुर परियार, नेकपाका सावित्रा दुरा, पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडा, वाम बुद्धिजिवीहरु रामराज रेग्मीदेखि डा.गेहेन्द्रेश्वर कोइरालासम्मले धारणा राख्ने जनाइएको छ ।

कार्यक्रम साइमन पार्टी प्यालेस सृजनाचोकमा पूर्वाह्न ११ः३० बजेबाट शुरु हुने अध्यक्ष खतीवडाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।