फिस्टेल हस्पिटलको २८औँ साधारण सभा सम्पन्न, कर्मचारी तथा चिकित्सकहरु सम्मानित


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०८३ मा प्रकाशित




पोखरा । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.को २८औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। सभामा अस्पतालका संस्थापक, सञ्चालक तथा प्रतिनिधिहरूले अस्पतालको पछिल्लो प्रगति, बिरामीको बढ्दो चाप तथा कर्मचारी र चिकित्सकहरूको योगदानको प्रशंसा गरेका थिए। सभाले विभिन्न प्रतिवेदनहरू समेत अनुमोदन गरेको छ।

कर्मचारी तथा चिकित्सक सम्मानित

अस्पतालले उत्कृष्ट कार्यसम्पादन, समर्पण, व्यावसायिकता र अनुशासनको कदर गर्दै कर्मचारी तथा चिकित्सकलाई विशेष पुरस्कार तथा सम्मान प्रदान गरेको अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो।

उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट मेड/पेडियाट्रिक विभागकी इन्चार्ज भूमिका पराजुली, आईसीयू/एनआईसीयू इन्चार्ज पुनम गुरुङ, म्याट/पोस्टअपकी सब-इन्चार्ज निर्मला गुरुङ, केबिनकी सब-इन्चार्ज सुजाता गुरुङ, सर्जरीकी सब-इन्चार्ज कुसुम कार्तिला, आईसीयू/एनआईसीयूकी स्टाफ नर्स काजोल गुरुङ, प्रशासनतर्फकी हस्पिटल सुपरभाइजर विजया गुरुङ, हाउस किपिङ अफिसर सुशीला आचार्य, रिसेप्शन इन्चार्ज अनुषा छेत्री र सीएओ मधु आचार्य ज्ञवाली सम्मानित हुनुभएको छ।

त्यस्तै, लामो समयदेखि निरन्तर र समर्पित सेवा प्रदान गरेको भन्दै सिनियर एएनएम ईश्वरी बस्नेत र प्रशासनिक अधिकृत शर्मिला शर्मालाई दीर्घकालीन सेवा पुरस्कार प्रदान गरिएको छ।

संस्थापक तथा पूर्व अध्यक्षलाई सम्मान

साधारण सभाका अवसरमा अस्पतालको स्थापना, नेतृत्व र विकासमा योगदान पुर्‍याउने संस्थापक अध्यक्ष डा. बसन्त कुमार ताम्राकार, पूर्व अध्यक्षहरू डा. प्रदीप घिमिरे, डा. भाइरत्न शाक्य, डा. भोला श्रेष्ठ तथा वर्तमान अध्यक्ष अशोक पालिखेलाई सम्मान गरिएको थियो। उहाँहरूलाई गोल्ड तक्मा लगाएर सम्मान गरिएको हो।

दुई चिकित्सक उत्कृष्ट घोषित

आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको ओपीडीमा सबैभन्दा बढी बिरामी जाँच गर्ने चिकित्सकका रूपमा डा. दिपेश कार्की र सबैभन्दा बढी आम्दानी आर्जन गर्ने चिकित्सकका रूपमा प्रा. डा. सन्तोष श्रेष्ठलाई उत्कृष्ट चिकित्सकका रूपमा सम्मान गरिएको छ।

दैनिक ६०० बिरामीले सेवा लिँदै

कार्यक्रममा अध्यक्ष अशोक पालिखेले देशका विभिन्न स्थानमा नर्सिङ तथा स्वास्थ्य क्षेत्रमा आन्दोलन भए पनि फिस्टेल हस्पिटलका कर्मचारीले निरन्तर सेवा प्रवाह गरेकाले अस्पतालको सेवा प्रभावित नभएको बताउनुभयो।

उहाँका अनुसार हाल अस्पतालमा दैनिक औसत ६०० जना बिरामीले सेवा लिइरहेका छन् भने आइतबार यो संख्या ९०० जनासम्म पुग्ने गरेको छ। बिरामीको चाप बढ्दै गएसँगै चिकित्सकहरूले अस्पतालमा स्थान अभावबारे ध्यानाकर्षण गराउँदै आए पनि कर्मचारी तथा चिकित्सकहरूले गुणस्तरीय सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो।

बिरामीको बढ्दो चाप र निरन्तर सेवाका कारण अस्पतालप्रति बिरामीको विश्वाससमेत बढ्दै गएको पालिखेको भनाइ थियो। उहाँले विगत २८ वर्षदेखि अस्पतालको स्थापना र विकासमा योगदान पुर्‍याउने पूर्व अध्यक्ष तथा चिकित्सकहरूको योगदानको स्मरण गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।

अन्य अस्पतालमा सेयरधनी वा साझेदारबीच विवाद हुने गरेको भए पनि फिस्टेल हस्पिटलमा संस्थाको विकास र स्तरोन्नतिकै विषयमा छलफल हुने गरेको उहाँले बताउनुभयो। चिकित्सकहरूलाई जुनसुकै समयमा बिरामीको सेवामा खटिन प्रेरित गर्ने परिवार तथा जीवनसाथीहरूप्रति समेत उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

७४ वर्षमा पनि पालिखेको गतिशील नेतृत्व

साधारण सभामा अस्पतालका पूर्व अध्यक्ष तथा वर्तमान सञ्चालक समिति सदस्य डा. भोला श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्दै अस्पतालको समग्र प्रगतिमा चिकित्सक, कर्मचारी, सञ्चालक समिति र व्यवस्थापन सबैको योगदान रहेको बताउनुभयो।

उहाँले विगतका वर्षमा बिरामीको संख्या र सेवा प्रवाहले अधिकतम सीमा छोइसकेको हो कि अब थप वृद्धि सम्भव हुन्छ कि हुँदैन भन्ने आशंका रहे पनि हाल प्रस्तुत प्रगति प्रतिवेदनले विगतका वर्षभन्दा उत्कृष्ट नतिजा देखाएको बताउनुभयो।

डा. श्रेष्ठले अस्पतालको सफलताको श्रेय सम्पूर्ण चिकित्सक, कर्मचारी र सञ्चालक समितिलाई दिँदै ७४ वर्षको उमेरमा पनि गतिशील रूपमा नेतृत्व प्रदान गरिरहेका अध्यक्ष अशोक पालिखेको योगदानको प्रशंसा गर्नुभयो। डा. श्रेष्ठले चालू आर्थिक वर्षको साउन र भदौको प्रगतिसमेत सकारात्मक देखिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा प्रतिफल अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

साधारण सभामा सेयरधनी, आमन्त्रित महानुभाव, सञ्चालक समिति सदस्य तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रम सञ्चालक कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता दामोदर अधिकारीले सभाध्यक्षको अनुमतिमा २८औँ साधारण सभा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।