कांग्रेस नेता जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : नवीन्द्राराज जोशी

काठमाण्डौं । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ ।

गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ ।

भेन्टिलेटरको सहयोगबाट उनको रक्तचाप सामान्य छ भने प्रतिमिनेट आफैँले ८–१० पटक श्वास फेरिरहनु भएको छ ।’

‘‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ’’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले भने । मस्तिष्कघात हुँदा रक्तस्राव भई उनको टाउकामा रगत जमेको थियो । यस्ता बिरामीमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाइ छ ।

आज दिउँसो ३ बजेसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै जोखिमपूर्ण अवस्था रहेको अस्पतालले जनाएको छ । गत सोमबार बिहानबाट आफैँले श्वास फेर्न थालेपछि जोशीलाई अस्पतालले भेन्टिलेटरबाट निकालेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।