वरिष्ठ खेल पत्रकार नवीन अर्याल जापानमा सम्मानित


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८३ मा प्रकाशित




वरिष्ठ खेल पत्रकार नवीन अर्याल जापानमा सम्मानित भएका छन् ।

टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ का वरिष्ठ उपाध्यक्षसमेत रहेका जापान–नेपाल फुटबल संघका संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले दोसल्ला ओढाएर लेखक अर्याललाई सम्मान गरेका हुन् । अर्यालले आइची–नागोयामा हालै सम्पन्न २० औं एशियाली खेलकुदको सन्दर्भमा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तक बिमोचन गरेका थिए। जापानका लागि कार्यबहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यमा नागोयामा १८ सेप्टेम्बरमा पुस्तक बिमोचन भएको थियो। बिमोचन कार्यक्रममा शेरचनको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा एन्फा जापानका अध्यक्ष तथा आरसिटी र मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलेका शिव खड्का तथा नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, एन्फा जापानका मानार्थ अध्यक्ष वसन्त गौचनको पनि सहभागी थिए । सम्मानपछि बोल्दै शेरचनले भने– नेपाल र जापानको खेल सम्बन्धको इतिहास खोतल्न सफल यो पुस्तक विमोचनका लागि नेपालदेखि लामो यात्रा तय गरेर आउनु भएका लेखक आर्याललाई टोकियोमा सम्मान गर्न पाउँदा खुसी लागेको छ। राज्यले महत्व दिएर गर्नुपर्ने काम उहाँको एक्लो प्रयासबाट सफल भएको छ। यसका लागि लेखकलाई धन्यवाद दिन चाहन्छु।

उनले नेपाल–जापान खेल सम्बन्धको दस्तावेज हालसम्म आफूले पढ्न नपाएको अवस्थामा यो किताबबाट नेपाल र जापानको बहुआयामिक पक्षलाई बुझ्ने मौका मिल्यो। जापानका समकालीन साथीहरुलाई खेलको माध्यमबाट नेपाल र जापानको सम्बन्ध कसरी विस्तार भयो भन्ने कुरा बताउन पाउँदा गर्व लागेको छ। कार्यक्रममा एन्फा जापानका अध्यक्ष खड्काले वरिष्ठ पत्रकारसमेत रहेका अर्याललाई जापानमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । एन्फा जापानका मानार्थ अध्यक्ष गौचनले पनि पुस्तकमा आफ्नो योगदानलाई समेटेकोमा लेखकलाई धन्यवाद दिए। कार्यक्रममा सफल व्यवसायी विनोद शेरचनले पनि लेखक अर्यालको मिहिनेतको प्रसंसा गरे। यस अवसरमा वरिष्ठ खेल पत्रकार तथा पुस्तकका लेखक अर्यालले एन्फा जापानप्रति आभार प्रकट गरे।

कार्यक्रममा एसियाली खेलकुदका लागि रिपोर्टिङ गर्न नेपालबाट गएका खेल पत्रकारहरु विनोद पाण्डे, महेश आचार्य, प्रकाश तिमलसिना, सुभाष हुमागाई, एसके शर्मालगायतलाई पनि एन्फा जापानले खादा ओढाएर स्वागत गरेको थियो। कार्यक्रम पत्रकार मोहन घलेले सञ्चालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।