गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको अवसरमा शुभकामना व्यक्त


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्ने विश्वास व्यक्त गरे । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भने, ‘बडादशैंले हामी सबैमा राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, नागरिकको सुरक्षा, अमनचयन, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएको छु ।’

बडादशैंले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने अपेक्षा पनि व्यक्त गरे । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न बडादशैंको विशेष महत्व रहेको उनले उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।