नेपाली कांग्रेस रूपा ३ र ४ को संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०८३ मा प्रकाशित




पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा विजयादशमी, शुभदीपावली, नेपाल संवत् ११७४, छठ तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा प्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. ३ का सभापति भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियार प्रमुख अतिथि तथा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज केसी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले पार्टीको आन्तरिक निर्वाचनमा हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा लिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसको केन्द्रीय उपसभापति पदमा थोरै मतान्तरले पराजित भए पनि कार्यकर्ताको माया र विश्वास प्राप्त गरेको उल्लेख गर्दै उहाँले पार्टी संगठन र मुलुकको समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचनको प्रतिस्पर्धालाई त्यहीँ सीमित राखेर अब सबै एकजुट भई पार्टीलाई बलियो बनाउन उहाँले आग्रह गर्नुभयो।

विशेष अतिथि सरोज केसीले युवा तथा नयाँ पुस्ताले स्वदेशमै आफ्नो क्षमता र प्रतिभा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रतिस्पर्धा र नियमसम्मत प्रक्रियालाई संस्थागत गर्दै सुशासन, समान अवसर र जनउत्तरदायित्वका विषयमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं ट्रेड युनियन तनहुँका अध्यक्ष कृष्ण केसी ‘नागिला’, महाधिवेशन प्रतिनिधिहरू नारायणकुमार श्रेष्ठ, गीमाया गुरुङ, मानेन्द्र कमाल र खेमबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी रूपा गाउँपालिका सभापति विमलबाबु न्यौपाने, नेता नवराज ओझा, पोखरा महानगरपालिकाका निवर्तमान सचिव टुबराज बास्तोला, भुला केसी, लक्ष्मी शाही, इन्दिरा कुमाल, विनोद छिमाल, गेहेन्द्र कोइराला, कृष्ण नेपाल, गोपालशरण रेग्मी, राजनसेन ठकुरी, कमल ओझा, मुमबहादुर शाही र शिवेन्द्रकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो। पर्वका अवसरमा शुभकामना आदानप्रदान र प्रतिनिधि सम्मानसँगै सम्पन्न कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकतालाई बलियो बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन रणबहादुर भुजेलले गर्नुभएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।