स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८३ मा प्रकाशित




स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ।

कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा गरिएको वृक्षारोपणले स्वर्गीय गुरुङप्रतिको माया, सम्मान र सम्झनालाई प्रकृतिसँग जोडेको छ। उनको सम्झनामा रोपिएका बिरुवाहरू हुर्कंदै जाँदा उनीप्रतिको आत्मीयता र सम्झना पनि सधैँ ताजा रहिरहने विश्वास गरिएको छ। वृक्षारोपणका क्रममा अध्यक्ष गुरुङले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै पछिल्लो समय बढ्दै गएका प्राकृतिक विपत्तिहरूको न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए । उनले वातावरण जोगाउनु भनेको वर्तमान मात्र नभई भावी पुस्ताको भविष्य सुरक्षित गर्नु पनि भएको बताए । उक्त अवसरमा ध्रुव गुरुङ, विनोद गुरुङ र रूपा गुरुङले पनि वृक्षारोपण गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति,कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रवासमा रहेर पनि मातृभूमिप्रति माया, सद्भाव र जिम्मेवारी व्यक्त गर्दै सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्‍याउने प्रवासी नेपालीहरूको उदार मनको प्रशंसा गरिन् । कार्यक्रममा युवा नेता विक्की गुरुङ, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलगायतको उपस्थिति रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।