छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित




पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका १ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिखसम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनले बताए । गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी ताल क्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिए । ६ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन् । सो दिन एकैपटक ७१९ जना पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना त्यहाँ पुगेका वडाध्यक्ष गुरुङले जानकारी दिए ।

पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए । कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ । यस गाउँमा करिब ४०० घरधुरी छन् । यहाँ गुरुङ समुदायको बाहुल्यता छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।