शुक्लाको मञ्चमा तीन पोखरेली सष्ट्रा सम्मानित


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखराका तीन सष्ट्रा एउटै मञ्चमा सम्मानित भएका छन् ।

शुक्ला साहित्य प्रतिष्ठान पोखराले बाटुलेचौरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान अर्पण समारोहमा लोक संस्कृतिका सर्जक पूर्ण नेपाली, संस्कृतिकर्मि सुनिल उलक र साहित्यककार दिनेश बस्नेतलाई प्रतिष्ठानद्वारा स्थापित पुरस्कार प्रदानसहित सम्मान गरिएको हो । लोक सर्जक नेपालीलाई गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप शुक्ला साहित्य राष्ट्रिय पुरस्कार प्रदान गरियो । नगद ५५ हजार ५५५, सम्मानपत्र र दोशल्ला सहित प्रदान गरिएको पुरस्कार प्रत्येक २ बर्षमा प्रदान गरिन्छ । चेतबहादुर बरुवाल स्मृति लोक साहित्य पुरस्कार संस्कृतिकर्मि उलक र शुक्ला बाल साहित्य गौरव पुरस्कार कवि बस्नेतलाई प्रदान गरिएको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी नगद १५ हजार ५५५, सम्मानपत्र र दोशल्ला र बाल साहित्य पुरस्कारको राशी नगद ११ हजार १११ साथमा दोशल्ला र सम्मानपत्र छ ।

उक्त पुरस्कार संघीय सासंद उत्तम पौडेल, पूर्व मन्त्री कुमार खड्का, प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले प्रदान गरिन् । कार्यक्रममा बोल्दै सासंद पौडेलले कला, साहित्य र संस्कृतिले नै नेपालको पहिचानलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याएको बताए । उनले यस्ता पुरस्कार र सम्मानले सर्जकहरुलाई थप प्रोत्साहन गर्ने बताउँदै यस्ता कार्यका लागि संस्थालाई सघाउन तयार रहेको बताए । पुर्व मन्त्री कुमार खड्काले बाटुलेचौर क्षेत्र कला, साहित्य र संगीतको उर्वरभुमि भएको बताउँदै, असल सष्ट्रा छनोट गरेको भन्दै प्रतिष्ठानको प्रशंसा गरे । सम्मानित सर्जक नेपालीले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै आफ्नो माटोको सुगन्ध जहाँ रहे पनि अटल रहने बताए । अर्का सम्मानित संस्कृतिकर्मि उलकले आफु सम्मानका खातिर भन्दा पनि इतिहासलाई जीवन्त बनाउन क्रियाशील रहेको बताए । साहित्यकार बस्नेतले सिर्जनाको मुल्य नहुने बताउँदै, यस्ता सम्मानले थप उर्जा मिलेको बताए ।

सम्मानित सष्ट्राको परिचय सष्ट्रा छनोट समितिका संयोजक रामबहादुर बानियाँ, हेमजा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल र अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलाले गराएका थिए ।कार्यक्रममा कवि डा. निर्मल लामिछानेले कविता वाचन र झलकमान गन्धर्व सारङ्गी पाठशालाका बालबालिकाले मंगल धुन प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गीता भण्डारी र संचालन सचिव रामप्रसाद पौडेलले गरेका थिए । प्रतिष्ठानद्वारा नै संचालित मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार समाजसेवी स्वर्गीय गोविन्दबहादुर खत्री क्षेत्रीलाई मरणोप्रान्त प्रदान गरिने जनाईएको छ ।मंसिर २० गते प्रदान गरिने पुरस्कारको राशी नगद २५ हजार ५५५, सम्मानपत्र र दोशल्ला रहेको छ । प्रतिष्ठानले आइतबार नै आफ्नो ३८ औं स्थापना दिवस पनि मनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।