सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २७
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर पहिलो साता पोखरामा हुने भएको छ । सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो ।
पोखरा सभागृहमा हुने प्रदेश अधिवेशनको सभापति शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापती मेखलाल श्रेष्ठले जानकारी दिए । अधिवेशनको उद्घाटन शत्रलाई सभापती देउवासहित नेता सशांक कोईरालालगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए । सभागृहमा उद्घाटन शत्र चले पनि मंसिर ६ गते हुने बन्दसत्र तथा निर्वाचन प्रक्रिया भने पोखरा–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुने उनले जानकारी दिए ।
गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने देउवा कांग्रेसका नेता गुरु बरालले जानकारी दिए । उनका अनुसार अधिवेशनमा १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेशका ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ जना प्रदेश प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० प्रदेश प्रतिनिधिसहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदहरूको सहभागिता रहने बरालले बताए ।
गण्डकी प्रदेशमा कांग्रेसका कति क्रियाशिल सदस्य छन् भन्नेबारेमा भने गण्डकी कांग्रेस अनभिज्ञ देखिएको छ । नेता बरालले पछिल्लो समय कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्नेको संख्या यकीन नभएको बताए । भने,‘प्रदेशमा कति क्रियाशिल सदस्य छन् र कुन जिल्लामा कति छन् भन्नेबारेमा ठ्याक्कै थाहा भएन, यसबारे जिल्लाबाट विवरण मगाउनुपर्छ ।’
अधिवेशनले गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले आगामी कार्यकालका लागि सभापती १, उपसभापती २, महामन्त्री (खुला २) र सहमहामन्त्री ३ पदाधिकारी चयन गर्ने जनाइएको छ । त्यस्तै, सदस्यमा प्रदेशका ११ जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुल्ला १० जना तथा विभिन्न समावेशी कोटाबाट १७ जना चयन गर्ने उपसभापती श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, कात्तिक २७पोखरामा सडकमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु…







