सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २७
गण्डकी प्रदेशको एकमात्र उत्तरी नाका मुस्ताङ भन्सार कार्यालयले चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष २०८३÷८४ को प्रथम चौमासिक अवधी नसकिदै वार्षिक लक्ष्यभन्दा साढे ३ अर्ब राजश्व बढी संकलन गर्न सफल भएको हो ।
मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष २०८३÷८४ मा ९ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर आर्थिक वर्षको प्रथम चौमासिक साउन, भदौ, असोज र कात्तिक महिनाको ४ महिना नसकिदै १२ अर्ब ५५ करोड १४ लाख ५३ हजार २ सय २२ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको मुस्ताङ भन्सार कार्यालय प्रमुख अनन्त तिम्सिनाले जानकारी दिए ।
यस अवधीमा २ हजार ६ सय ३ मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् । कात्तिक २५ गतेसम्ममा २ हजार ४ सय ७८ वटा गेटपास भएका मालबाहक कन्टेनर भित्रिएकोमा कात्तिक २६ गते एकै दिन १ सय २५ वटा गेटपास भएका मालबाहक कन्टेनर भित्रिएको कार्यालय प्रमुख तिम्सिनाले बताए ।
यस नाकाबाट तयारी पोषाक, चाईनिज कपडा, जुत्ता, चप्पललगायतका सामग्रीहरु भित्रिने गरेको प्रमुख तिम्सिनाले जानकारी दिए । त्यस्तै, झोला, स्मार्ट कार्ड, सल, दोषल्लालगायतका सामग्रहरु पनि भित्रिने गरेको उनको भनाई छ । ‘नेपाल आयात हुने सामान बिग्रिए, च्यातिएमा प्रयोग हुने आवश्यक सामग्रीहरु पनि भित्रिन्छन्’—उनले भने ।
यस उत्तरी नाकाबाट पछिल्लो ३ महिनामा ६ हजार ८ सय २९ वटा विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । ‘त्यसबाहेक ती ईभी गाडीका पार्टपूर्जाहरु पनि आयात हुन्छन्’—उनले भने । चीनमा निर्मित ईभी गाडी आउने क्रम पछिल्लो समय बढेको भन्सार प्रमुख तिम्सिनाले बताए ।
सबैभन्दा नजिकको दुरीमा रहेको उत्तरी नाका कोरला नाकाबाट पछिल्लो समय आयात ह्वात्तै बढेको छ । आयात बढे पनि भन्सारमा मालवस्तु चेकजाँच गर्न भन्सार यार्ड र शेड नहुँदा समस्या हुने गरेको छ । कार्यालय प्रमुख तिम्सिनाले हाल भन्सार कार्यालय भवन तथा यार्ड ब्यबस्थापन र आवास भवन काम चलाउका रुपमा रहेको बताए । उनका अनुसार भन्सार गोदाम पनि नहुँदा भन्सार जाँचमा कठिनाई भोग्दै आउनु परेको छ ।
विद्युत र ब्याकअप (सोलार, ईन्भर्टर)को समस्या पनि भन्सार कार्यालयले भोग्दै आएको उनले जानकारी दिए । त्यस्तै, भन्सारमा राजश्व संकलनका लागि अन्य सरकारी तथा सहयोगी निकायको उपस्थिति नहुँदा जटिला आउने गरेको छ । ‘भन्सारमा क्वारेन्टाईन्, ईमिग्रेसन, बैंकलगायतका अन्य सरकारी तथा सहयोगी निकाय छैनन्, जसले भन्सारका कार्यहरुमा समस्या आउने गरेका छन्’—उनले भने ।
गण्डकी प्रदेशको दक्षिणी नाका नवलपुरको त्रिवेणी भन्सार हो । तर यो छोटी भन्सारका रुपमा परिचित छ र यहाँबाट ठूलो परिमाणमा व्यवसायीक सामान आयात हुँदैन । यस नाकाबाट चामल, दाल, मकै, आलु, प्याजलगायतका दैनिक उपभोग्य वस्तुहरु आयात हुने गरेका छन् । व्यवसायीक रुपमा सञ्चालनमा नरहेको यस नाकाबाट राजश्व संकलन पनि न्यून मात्रै हुने गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, कात्तिक २७पोखरामा सडकमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु…







