पोखरामा बोलेरो र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८३ मा प्रकाशित




पोखरा, कात्तिक २७
पोखरामा सडकमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो भएको दुर्घटनामा म्याग्दीका २१ वर्षीय विवेक दर्जी र २६ वर्षीय मोहन परियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लु ३ च ५२७४ नम्बरको बोलेरो जिप सडकमा रोकिराखेको अवस्थामा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा स्कुटर चालक र पछाडि सवार दुवै जना गम्भीर घाइते भएका थिए।
मंगला गाउँपालिका–दारुङका विवेकको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा दिउँसो ३ः५० बजे मृत्यु भएको हो। टाउको र आँखामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। उनको शव आफन्तले साँझ ५ बजे सनाखत गरेका थिए। त्यस्तै, रघुगंगा गाउँपालिका–३ निवासी मोहनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा दिउँसो ३ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव आमा रूपा परियारले सनाखत गरेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार दुर्घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुर्घटनामा संलग्न स्कुटर, बोलेरो जिप र जिप चालक पोखरा महानगरपालिका–२८ कालिकाका ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।