पोखरा, कात्तिक २८
सामाजिक कार्यमा अग्रणी संस्था सृजना विकास केन्द्रको ४९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले संस्थाका कार्यबाहक महासचिव उर्मिला भट्टराईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३÷८४ को प्रस्तावित कार्यक्रम तथा कोषाध्यक्ष अशोककुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८३÷८४ को प्रस्तावित बजेट पारित गरेको थियो ।
अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सामाजिक संघसंस्थाहरू समाज रूपान्तरणको बाहक बन्नुपर्ने बताए । उनले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै सामाजिक संघसंस्थाहरू आफ्नो उद्देश्यअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। प्रजिअ गुरुङले परिवार, समाज र देशलाई नै रूपान्तरण गर्ने अभियान सफल बनाउन व्यक्ति र संस्था स्वयम् रुपान्तरण हुन जरुरी रहेको बताए । साथै सामाजिक संघसंस्थाले संस्थागत सुशासन सुधार गर्नुपर्ने उनको भनाई थियो ।
केन्द्रका संस्थापक सल्लाहकार लीलाधर पराजुलीले सबैले हातेमालो गरेर अघि बढे मात्रै संस्था सफल हुने बताए। संस्थापक अध्यक्ष डम्बरबहादुर केसीले सामाजिक सेवा गर्ने हुटहुटीलाई साकार पार्न सृजना विकास केन्द्र स्थापना गरिएको स्मरण गरे। स्थापना गर्दाको उद्देश्य र अहिलेको अवस्थाबीच मेल नखाने बताउँदै उनले अब वर्तमान परिस्थिति अनुसार योजना र कार्यक्रम बनाउन जरुरी रहेको बताए । उनले निःस्वार्थ भावले सामाजिक सेवा गर्ने संस्थाहरूको संरक्षण गर्ने जिम्मेवारी प्रशासनको पनि भएको बताए। उनले यस विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए।
सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा गिरीले सामाजिक कार्यमा सक्रिय संस्थाहरूलाई प्रशासनले प्रोत्साहन गर्नुपर्ने बताइन्।
जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पहारीले सामाजिक तथा शैक्षिक क्षेत्रमा सृजना विकास केन्द्रको योगदान उदाहरणीय रहेको बताए। उनले आगामी दिनमा पनि केन्द्रले सामाजिक क्षेत्रमा योगदानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
साधारण सभा केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले संस्थामा थप सुशासनसँगै सामाजिक कार्यलाई प्रभावकारी बनाउनेगरी अगाडि बढ्ने योजनामा संस्था रहेको स्पष्ट पारे । कार्यक्रममा सृजना विकास केन्द्रको दर्पण विमोचन गरिएको थियो ।
सृजना विकास केन्द्रले सृजना बहिरा विद्यालय स्थापना, सृजना बालगृह स्थापना र सञ्चालन, जनप्रिय बहुमुखी क्याम्पस स्थापना, सृजना खानेपानी परियोजना सञ्चालन, सृजना लघुवित्तीय संस्थाको स्थापना र सञ्चालन गर्दै आएको छ । त्यसबाहेक संस्थाले रुख रोप्ने अभियान, खेल प्रवद्र्धनलगायतका सामाजिक कार्य पनि गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पद्मश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडको १९औँ वार्षिक…







