सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २७
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश अधिवेशन भोलिदेखि पोखरामा शुरु हुँदैछ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन भोलि र पर्सी पोखरामा हुने सो समूहले जनाएको छ ।
पोखरा सभागृहमा हुने प्रदेश अधिवेशनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । उद्घाटनका लागि देउवा शुक्रबारै पोखरा आईपुगेका छन् । उनी दिउँसो पौने १ बजेको उडानबाट पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आईपुगेका हुन् । पोखरा आएलगत्तै उनी हेलिकोप्टरबाट बागलुङ जिल्ला अधिवेशनमा सहभागी हुन बागलुङ गएका थिए । उनी आजै साँझ पोखरा फर्किने देउवा कांग्रेसका नेता गंगाधर पराजुलीले जानकारी दिए ।
देउवाको बास शुक्रबार पोखरा ग्राण्डमा हुनेछ । उनी भोलि शनिबार पोखरामा हुने देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सहभागी भई फर्किने तालिका रहेको नेता पराजुलीले जानकारी दिए ।
सो अधिवेशनमा सहभागी हुन लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंह पनि शुक्रबार नै पोखराआईपुग्ने बताइएको छ । त्यस्तै, शनिबार विहान देउवा कांग्रेसका महाधिवेशन आयोजक समितिका संयोजक डा.सशांक कोईराला, नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतका नेताहरु पनि आउने पराजुलीले बताए ।
देउवा कांग्रेसको प्रदेश अधिवेशनको उद्घाटन शत्र पोखरा सभागृहमा भए पनि मंसिर ६ गते हुने बन्दसत्र तथा निर्वाचन प्रक्रिया भने पोखरा–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुने प्रदेश उपसभापती मेखलाल श्रेष्ठले जानकारी दिएका छन् ।
गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने देउवा कांग्रेसका नेता गुरु बरालले जानकारी दिए । उनका अनुसार अधिवेशनमा १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेशका ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ जना प्रदेश प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० प्रदेश प्रतिनिधिसहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदहरूको सहभागिता रहने बरालले बताए ।
अधिवेशनले गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले आगामी कार्यकालका लागि सभापती १, उपसभापती २, महामन्त्री (खुला २) र सहमहामन्त्री ३ पदाधिकारी चयन गर्ने जनाइएको छ । त्यस्तै, सदस्यमा प्रदेशका ११ जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुल्ला १० जना तथा विभिन्न समावेशी कोटाबाट १७ जना चयन गर्ने उपसभापती श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका…







