एक हल गोरु पाल्ने कृषकलाई हलो


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित




तनहुँ। जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो ।

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि रु २० लाख, कुटानीपिसानी मिलमा रु पाँच लाख, कृषि टनेलमा रु तीन लाख र हलोका लागि रु तीन लाख बजेट विनियोजन गरेको जनाएको छ ।

आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । सम्बन्धित क्षेत्रका लागि कृषकले आवेदन दिए पनि उनीहरुको मूल्याङ्कन र स्थलगत अवलोकनपश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।(रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।