तेश्रो सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित




पोखरामा चैतको दोश्रो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत ११ गतेदेखि १४ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ३ वर्ष अघिदेखि शुरु भएको प्रतियोगिताको तेश्रो संस्करणको तयारी भइरहेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराले विहीबार पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि टिम लिएर विद्यालय आउनुपर्ने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयबाट खेलाडी उत्पादन शून्य प्रायः भएपछि भलिबलमा पुनःजागरण ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । भलिबलको राष्ट्रिय टिममा हिजो कास्केली खेलाडीको बर्चस्व थियो,‘उनले भने,‘तर अहिले त्यस्तो अवस्था छैन, खेलाडी उत्पादन ह्वात्तै घटेको छ, अझ सामुदायिक विद्यालयमा त भलिबल खेल खस्किएको छ ।’ ‘त्यहि खस्किएको भलिबललाई उकास्ने हाम्रो उद्धेश्य र लक्ष्य हो’–उनले भने । त्यसैका लागि सामुदायिक विद्यालय स्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो,‘उनले थपे,‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । प्रतियोगिताका लागि चैत ९ गतेसम्म नाम दर्ता गराउन सकिने र टिम दर्ताका लागि ३\३ हजार शुल्क लाग्ने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए । १० गते टाइसिट निकालिने उनको भनाई छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ७०\७० हजार, उपबिजेतालाई ३५\३५ हजार र तृतीय हुने विद्यालयलाई २०\२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट ११ लाख आम्दानी गरी १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।