सेनवंशी तनहुँसुर दरबार पुनः निर्माण गरिँदै


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित




सेनवंशी राजाले शासन गरेको तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ।

पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो। राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

ऐतिहासिक दरबारको ७० लाख रुपैयाँ लागतमा दरबार पुनःनिर्माण भइरहेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए। उनका अनुसार उक्त दरबार जीर्ण अवस्थामा पुगेकाले पुनःनिर्माण गरेर संरक्षण गर्न लागिएको हो।

तनहुँसुरबाट अपभ्रंश भएर दरबारको नामाकरण भएको भन्ने किंवदन्ती रहिआएको पाइन्छ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य संचालन गर्न पठाएको र उनीपछिका ८ जना सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य संचालन गरेको किंवदन्ती छ।

तनहुँसुरको सेनवंशी राजाको दरबार खड्कमाई मन्दिर, सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारालगायतको संरक्षण गरिने नगरपालिकाले जनाएको छ। खड्कमाई मन्दिर संरक्षण समितिका अध्यक्ष वीरबहादुर थापा दरबार तथा खड्कमाई मन्दिरको पुनःनिर्माणका लागि पुरातत्व विभागले चासो दिई उत्खनन गरी पुनःनिर्माण अघि बढाएपछि स्थानीय बासिन्दा खुशी भएको बताए।

दरबारले थप आकर्षण गर्ने र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको छ। विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ। यहाँका नेवार समुदायको हटिया रित्तिएको छ। विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका छन्।

तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृंखला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा पर्यटकीय शहर पोखराको समेत अवलोकन गर्न सकिन्छ। विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जनाले सहादत प्राप्त गरेका थिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।