अयोग्य प्रधानमन्त्री चरम अहंकारी : गगन थापा


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अयोग्य प्रधानमन्त्री केपी शर्मा ओली चरम अहंकारी भएको आरोप लगाएका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको शनिबार पोखरामा भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अयोग्य प्रधानमन्त्रीले उल्टो अहंकार र दम्भ प्रदर्शन गरेको बताएका हुन् । ५ वर्षको म्याण्डेट पाएरपनि सरकार चलाउन नसकेकोमा प्रधानमन्त्रीमा रत्तिभर ग्लानी नरहेको बताउँदै उनले भने,‘जिम्मेवारी उहाँले सहि ढंगले निर्वाह गर्न सक्नु भएन । तर मन्द मुस्कान छर्दै, हात हल्लाई हल्लाई बोलेको देख्छु, म उहाँको अहंकार हेर्छु, दम्भ हेर्छु । मलाई के लाग्छ भने आफू अयोग्य भएकोमा प्रधानमन्त्रीलाई कहिल्यै लाज लाग्ने, अप्ठेरो लाग्ने, संकोच लाग्ने, कहिल्यै रत्तिभर देखिन ।’

नेता थापाले अब ओलीको दम्भ र अहंकार तोड्न कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । नेकपा नरहेपछि जनमतलेपनि कांग्रेसको नेतृत्वमा सरकार बनाउन सकिने बाटो बनेको उनको भनाई छ । तर कांग्रेसको नेतृत्वमा बनेको सरकारलेपनि सरकार २ वर्ष टिकाउने नभई जतिसक्दो चाँडो चुनाव गर्नुपर्ने बताए ।

नेता थापाले ओली प्रवृत्ति भनेको सरकार नभई सत्ता भएको बताए । ओली प्रवृत्ति सरकार नभई सत्ता भएकैले त्यो सरकारबाट फैलिएर अदालत, अख्तियार, निर्वाचन आयोगलगायतमा पुगेको उनले टिप्पणी गरे । ओलीमा प्रधानमन्त्रीको कुर्सीमा बस्नेदेखि अदालत, अख्तियार, निर्वाचन आयोग सबै मै हुँ भन्ने भ्रम बढेको बताए ।

नेता थापाले प्रधानमन्त्री अहिले आफैले हत्या गरेको संसद पुर्नस्थापना भएपछि त्यसलाई कसरी पंगु बनाउने भन्ने ध्याउन्नमा लागेको आरोप लगाए । प्रधानमन्त्री संसदमा कुनैपनि प्रस्ताव नल्याएर आफूले संसद भंग गरेको सहि थियो र यो संसदले सरकारपनि दिन सक्दैन तथा यहाँ छलफलसमेत हुन सक्दैन भन्ने पुष्टि गर्न लागिपरेको उनको भनाई छ ।

उनले नेकपाको नाममा जितेर आएकालाई अब जनप्रतिनिधि मान्न नसकिनेसमेत बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अदालतले छुट्याएर नेकपा एमाले र नेकपा माओवादी बनाइसकेकाले नेकपाको नाममा जितेकाहरुलाई जनप्रतिनिधिहरु मान्न नसकिने उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।