पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख सापकोटा


     रासस    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित भएको बताएका छन् ।

जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज चाबहिलमा सम्बोधन गर्दै उनले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताए ।


“विसं २०६२÷२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत घटनाले पनि कोइरालाको साहसलाई प्रमाणित गर्छ”, सभामुख सापकोटाले भने ।


कोइरालाको स्मृतिमा खुलेको कलेजले संस्कृति, संस्कार र ज्ञान हस्तान्तरणमा नमूना भएर काम गर्ने विश्वास उनले व्यक्त गरे । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले कलेजलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजनामा आफ्नो साथ रहने उनको प्रतिबद्धता छ । पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने सभामुख सापकोटाको विश्वास छ ।

“कानून निर्माणमा चुनौती सामना गर्दै भगीरथ प्रयत्न हुनेछ, जनताको संसद्प्रतिको विश्वासमा घात पर्ने गरी काम हुने छैन, छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्छ, शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिनुहुनेछ”, उनले भने ।

सांसद एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नु भई कार्यवाहक राष्ट्राध्यक्ष र सरकार प्रमुखकोसमेत भूमिका निर्वाह गरिसक्नुभएका गिरिजाप्रसाद कोइरालाको स्मृतिमा खुलेको कलेजलार्ई विश्वविद्यालयका रुपमा विकास गर्न लागिएको बताए ।

यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सहयोग गर्ने वचन दिनुभएको कार्यक्रममा उनले सुनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।