आगामी वर्ष १३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

- दशै बिदा ६ दिन, तिहार बिदा कार्तिक १८ देखि २० गतेसम्म


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित




पोखरा । सरकारले आगामी वर्ष २०७८ सालमा १३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले सोमबार आगामी वर्षभरि दिइने बिदाको राजपत्रमा सूचना प्रकाशन गरि यसको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ७ दिन पर्व बिदा, ५ दिन दिवस बिदा र एक दिन जन्मजयन्ती बिदा गरि १३ दिन सार्वजकि बिदा दिने भएको छ ।

पर्व बिदा अन्र्तगत नयाँ वर्ष बैशाख १ गते, भदै ६ गते रक्षाबन्धन, असोज २१ गते घटस्थापना, कार्तिक २४ गते छठ पर्व, माघ १ गते माघी/माघे संक्रान्ति, फागुन १७ गते महाशिवरात्री र चैत ३ र ४ गते फागु पुर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रकाशित सूचनामा भनिएको छ ।

फागु पुर्णिमाका अवसरमा चैत ३ गते हिमाली र पहाडी ५६ जिल्लामा बिदा हुने छ भने बाँकी २१ जिल्लामा चैत ४ गते बिदा दिने उल्लेख गरिएको छ ।

यस्तै दशैं बिदा फूलपातीदेखि एकादशीसम्म ६ दिन बिदा हुने छ भने तिहार अवसरमा कार्तिक १८ देखि कार्तिक २० गतेसम्म बिदा दिइने उल्लेख गरिएको छ ।

दिवस बिदा अन्र्तगत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तराष्ट्रिय महिला दिवसका दिनपनि सार्बजनिक बिदा हुनेछ । भने अपाङ्गता भएका कर्मचारीले मंसिर १७ गते अपाङ्गता दिवसका दिन बिदा पाउने भएका छन् ।

त्यसै गरि जेठ १२ गते पर्ने बुद्ध जयन्तीमा पनि सार्बजनिक बिदा हुने छ ।

२०७७ सालमा रक्षाबन्धन, घटस्थापना, छठ, माघेसङ्क्रान्ति, तिहारको भोलिपल्ट, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको दिन बिदा दिइएको थिएन । यो वर्ष थपिएका बिदा प्राय वर्तमान सरकार आएपछि काटिएका बिदा थिए ।

गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्राको अवसरमा जात्रा बिदा अन्र्तगत काठमाण्डौं उपत्यकामा मात्र बिदा हुने छ ।

त्यस्तै किराँत, राई, याक्खा, सुनुवार, लिम्बु जातिको उभौली पर्व (चण्डी पूर्णिमा ÷बैशाख पूर्णिमा), गौरा पर्व, इस्लाम धर्मालम्बीको ईद उल फित्र, इद उद अजाह, किराँत जातिको उधौली पर्व, ज्यापू दिवस, योमोरी पून्हि धान्य पूर्णिमा, ईसाई धर्मावलम्बीको क्रिसमस डे, तमू जातिको तमू ल्होसार, सोनम ल्होसार, हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पो ल्होसार र सिराहा, सप्तरी, मोरङ, सुनसरी र झापामा मनाइने सिरुवा पावनीको दिन सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै सार्वजनिक विदा दिइने गृहमन्त्रालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

यस्तै कार्तिक २५ गते परेको फाल्गुनन्द जयन्तीका दिन किराँत धर्मालम्बी र मंसिर ३ गते गुरु नानक जयन्तीमा नेपाली सिख धर्मालम्बीले सो दिन बिदा पाउने सूचनामा उल्लेख छ ।

त्यसैगरि हरितालिका तीज ब्रतका दिन महिला कर्मचारीलाई बिदा दिइएको छ भने असोज १३ गते जितिया पर्वका अवसरमा सो पर्व मनाउने महिलाले मात्रै उक्त दिन बिदा पाउने भएका छन् ।

यस्तै शैक्षिक संस्थाहरुलाई बसन्त पञ्चमीमा बिदा दिइने सूचनामा जनाइएको छ ।

राष्ट्रिय रुपमा मनाइने भएपनि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस र शहीद दिवसमा भने कार्यालय खुल्ने छन् ।

त्यसैगरि मन्त्रालयले विदेशस्थित नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरुलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरेको छ ।

मन्त्रालयले बैशाख १ गतेदेखि कार्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय समय तोकेको छ भने कार्तिक १६ देखि माघ १५ सम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला हुने जनाएको छ । शुक्रबारको हकमा भने ३ बजेपछि कार्यालय बन्द हुने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।