तनहुँमा मतदाता नामावली संकलन सुचारु, २० हजार २४ मतदाता थपिए


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित





तनहुँमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरु भएको छ।

निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली संलन तथा अद्यावधिक कार्य तनहुँमा पुनः शुरु भएको हो।

सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली संकलन स्थगन गरेको थियो। सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली संकलनलाई अगाडि बढाएको हो।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक शुरु गरिएको जानकारी दिए। कार्यालयले नागरिकता बनाउन आउनेलाई प्रशासन कार्यालयबाटै नामावली संकलनको व्यवस्था मिलाएको छ भने कार्यालयबाट पनि नाम दर्ता गर्न सकिनेछ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदानस्थल, जन्ममिति, नागरिकता, बुवाआमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनका लागि आवश्यक प्रमाणसहित निवेदन दिन कार्यालयले आग्रह समेत गरेको छ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा वि. सं. २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म २० हजार २४ मतदाता थपिएका छन्। विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा २ लाख ११ हजार ३ सय ९६ मतदाता थिए। गत पुस ५ गतेभन्दा अगाडि २ लाख ३१ हजार ४२० मतदाता पुगेका छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।