पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने २२० सवारी नियन्त्रण


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७७ मा प्रकाशित




फाइल फोटो

पोखरा । पोखरामा होली मनाउँदा ट्राफिक नियाम उल्लंघन गरेर सवारी चलाउने झण्डै २२० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

होली पर्व मनाउने क्रममा ट्राफिक नियमको उल्लंघन गर्दै सवारी चलाउने २२० जना सवारी चालकलाई पोखराका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक पूर्ण बहादुर अधिकारीले जानकारी दिए ।

कारवाहीमा पर्नेमा १२ वटा चार पाङ्ग्रे सवारी साधन छन् भने बाँकी दुई पाङ्ग्रे सवारी हुन् ।
होलीका अवसरमा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै पोखराका झण्डै १७ ठाउँमा गरिएको सवारी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख समेत रहेका नायव निरीक्षक अधिकारीले बताए ।

प्रहरीले कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा ३ जना चढ्ने र लापरवाही गरेर चलाएका सवारीलाई दिनभर होल्डमा राखेर आइतबार साँझ सम्बन्धीत आफन्तलाई जिम्मा लगाइएको उनले एभरेस्ट आवाजलाई जानकारी दिए ।

यस्तै मापसे गरेर सवारी चलाउने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभई सवारी चलाउने चालकलाई भने आवश्यक कारावाही गरिने उनले बताए ।

उनले एभरेस्ट आवाजसंग कुरा गर्दै भने– ‘चाडपर्व मनाउने नाममा ट्राफिक नियम उल्लंघन गर्नेलाई केहीलाई अहिले साँझ अव त्यस्तो नगर्ने सर्तमा सम्झाई बुझाई आफन्तको जिम्मा लगाएका छौं । मापसे गर्ने, लाइसेन्स विना सवारी चलाउनेलाई भने आवश्यक कारवाही गर्नेगरि जरिवाना गरिएको छ ।’

विभिन्न ठाउँमा सवारी चेकजाँच कडा पारिएकाले जिल्ला त्यस्तो अप्रिय घटना भने नभएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।