पाचौं संस्करणको पोखरा स्पोर्टस अवार्डको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्विर : उमेश पुन
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सञ्चालन गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०७७ को मनोनयन सोमबार सार्वजनिक गरेको छ ।
मञ्चले २०७८ वैशाख २० गते आयोजना गर्ने पाचौं संस्करणको पोखरा स्पोर्टस अवार्ड का विभिन्न ४ विधामा ३–३ जनाको नाम सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
मनोनयमा सर्वोत्कृष्ट खेलाडी पुरुषमा कराँतेका नवीन रसाइली, टेबल टेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल परेका छन् । त्यस्तै सर्वोत्कृष्ट महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ ।
सर्वोत्कृष्ट पुरुषतर्फ कराँतेका रसाइली, टेबल टेनिसका खनियाँ र फुटबलका अर्याल, महिलातर्फ साइक्लिङकी थापा, तेक्वान्दोकी गुरुङ र क्षेत्री मनोनयनमा परेका छन् ।
त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्विमिङकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री मनोनयनमा परेका छन् । प्रशिक्षकमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा परेका छन् ।
पोखरा स्पोर्टस अवार्ड २०७६ कोरोना भाइरसका कारण हुन नसकेपछि अघिल्लो वर्षदेखिको खेलाडीको क्षमतालाई आधार मानेर मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मनोनित मध्ये सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले सँधै झैं यस वर्षपनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामध्ये एकजनालाई चाँदीको करुवासहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्डका लागि प्रतिभा छनौट गर्ने क्रममै रहेको उनले बताए ।
त्यस्तै, मञ्चले वर्ष सर्वोत्कृष्ट खेल संघलाई पनि अवार्ड प्रदान गर्ने भएको छ । मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट यसवर्ष २ जनालाई अवार्ड प्रदान गर्ने भएको छ । वर्ष उत्कृष्ट खेल परिकारिता पुरस्कार २०७६ र ७७ गरि २ जनालाई यस वर्ष पत्रकारिता पुरस्कार वितरण गरिने अध्यक्ष गिरीले जानकारी दिए । पुरस्कृत पत्रकार नाम अवार्ड वितरण समारोहमा एकैपटक उद्घोषण गरिने उनले बताए ।
सर्वोत्कृष्ट पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्नेलाई जनहि २ लाख रुपैयाँ, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च गण्डकीले जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, प्रशिक्षक, खेल संघ तथा पत्रकारिता पुरस्कार विधामा अवार्ड प्राप्त गर्नेलाई नगद सहित सम्मान गरिने उनले बताए ।
कार्यक्रमलाई भव्य बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता गरेको मञ्चले जनाएको छ ।
यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनबाट पत्रकारलाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ । साथै पोखरा सभागृहचोकमा सञ्चालित मुगलान रेष्टुरेन्ट स्पोर्टस् अवार्डमा रेष्टुरेन्ट पार्टनररुपमा जोडिएको पनि मञ्चका महासचिव विजय नेपालले जानकारी दिए ।
त्यस्तै, राखेपका सदस्य राजेश कुमार गुरुङले उत्त अवार्डं सफल पार्न आफुनी आमाको स्मृतिमा केही न केही आर्थिक सहयोग गर्ने वचन दिए । खेलाडी एवं खेलकुद क्षेत्रलाई प्रोत्साहन हुने यस्ता कार्यक्रमलाई सफल पार्न खेलकुदकर्मी लाग्नु पर्ने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







