संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधी


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित




पोखरा । १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । पोखरा रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो ।

१९ औं संस्करणको आहा राराको उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ। उपविजेता अफ्रिकनले नगद ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताम ८ वटा क्लबको सहभागिता थियो।

प्रतियोगितामा संकटाका गोलरक्षक राजाबाबु थापा उत्कृष्ट रक्षक र निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए। अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिक उत्कृष्ट स्ट्राइकर बने। उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसको पोल्टामा गयो। उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थापाले एक थान स्कुटर प्राप्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।