सुदूर–पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विभागीय सशस्त्र प्रहरी बलको एपीएफले मेयर वुमेन्स च्याम्पियन्सीपको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको सुदूर–पश्चिम प्रदेशले १०७ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उभिएको एपीएफले १८.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
एपीएफका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु बर्मा १९ र ममता चौधरीले १५ रन जोडे ।
प्रतियोगिताको विजेता एपीएफले ३ लाख तथा उपविजेता सुदूर–पश्चिम प्रदेशले १ लाख ५० हजार रूपैयाँ हात पारेको छ।
एपीएफकी कप्तान सिता रानामगर प्रतियोगिताको ‘प्लेयर अफ दी सिरिज’ बनिन्। सिताले २५ हजार पुरस्कार हात पारिन्। टिमलाई उपाधि दिलाउन राम्रो भूमिका निभाएकी कप्तान सिताले ब्याटिङ र बलिङ दुबैमा राम्रो खेलिन्। जसमा उनले ब्याटिङमा ५ खेलबाट एक सय २३ रन बनाइन्। जसमा उनले एक अर्धशतक हिर्काएकी थिइन्। उनको उच्च स्कोर ५२ रन रहेको थियो। बलिङमा पनि उनले ५ विकेट लिएकी थिइन्।
प्रतियोगितामा उत्कृष्ट बलर एपीएफकी विनु बुढामगर बनिन। उनले प्रतियोगितामा ५ खेलबाट १० विकेट लिएकी थिइन्। जसमा उनले ६६ रन खर्चिएकी थिइन्। उनको प्रतियोगितामा उत्कृष्ट बलिङ ११ रन खर्चिएर ४ विकेट थियो।
यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर प्रदेश–१ की कप्तान रुविना क्षेत्री बनिन्। उनले प्रतियोगितामा ४ खेलबाट एक सय ६१ रन बनाएकी थिइन्। जसमा उनको उच्च स्कोर ६८ रन थियो भने एउटा अर्धशतक बनाएकी थिइन्। उनको टिम भने लिग चरणबाट बाहिरिएको थियो। विना र रुविनाले जनही १५÷१५ हजार रुपैयाँ पाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







