गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ।
सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यबमोजिम गाउँपालिकाले नयाँ भवन निर्माण गरेको हो।
तीन करोड ८ लाख ७७ हजार ४ सय ६६ को लागतमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिएका छन्। नयाँ वर्षको शुरुवातसँगै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह समेत सुरु गरेको छ।
विसं २०७६ माघ २१ गते सम्झौता भई २०७८ साउन २१ गते सम्पन्न गर्नुपर्ने म्याद रहेपनि म्याद अगावै भवन निर्माण सम्पन्न भएको छ। सिजल कन्स्ट्रक्सन जेभीले सम्पन्न गर्नुपर्ने म्यादभन्दा ३ महिना अगावै भवन निर्माण सम्पन्न गरेको हो। भवनले ३२३.२२ वर्गमिटर क्षेत्रफल ओगटेको छ। भवन निर्माण सम्पन्न भएसँगै सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्न सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए।
गाउँपालिकाले यसअघि कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको थियो।
‘साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ सम्पन्न भवनले सहज हुनेछ,’ पोख्रेलले भने।
नयाँ भवनबाट सेवा सुरु भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच गाउँपालिकाको छ। त्यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ। ‘नपुग रकम आगामी वर्ष विनियोजन गर्छौ, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो,’ उनले भने।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित निर्माण शुरु भएको भवन समयमै निर्माण सम्पन्न भएको बताए। स्थानीय तहमा निर्वाचित भएको ४ वर्षको अवधिमा आफूहरुले धेरै विकास निर्माणका काम गरेको उनले बताए। ‘प्रत्येक वडामा विकासका काम भएका छन्, पाँच वर्षको अवधिमा सबै पूर्वाधार निर्माण गरेर छाड्ने लक्ष्य राखेका छौँ,’ थापाले भने।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







