शौचालयको अभावमा १७ वर्षीया किशोरी वलात्कृत


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।
सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरू बताएका छन् ।

दुईमध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार प्रयास भएको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार आरोपितमध्ये सुनील पक्राउ परेका छन् भने ज्ञानु फरार छन् ।

पीडित १७ वर्षीया किशोरीकी आमा र पीडित १९ वर्षीया किशोरीकी लिखित उजूरी दिनुभएको छ । दशैंँको बिदालगत्तै सप्तरी जिल्ला अदालत खुलेपछि आरोपितविरुद्ध म्याद थप गरिने प्रनाउ सिंहले बताउनुभयो ।

यसअघि पनि सप्तरीको बलान बिहुँल गाउँपालिकामा शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार घटनाको उजुरी दर्ता छ । गत भदौ २७ गते राति भएको बलात्कार घटनाको उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भएपनि हालसम्म कोही पक्राउ परेका छैनन् ।

प्रदेश नं। २ कै दोस्रो खुला दिसामुक्त सप्तरी जिल्ला विसं २०७४ चैत २१ गते खुला दिसामुक्त जिल्ला घोषणा भएको हो । सप्तरीको शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुस्किल पर्छ भने ग्रामीण भेगमा कतिपय शौचालय व्यवस्थापनको समस्या थपिँदो छ ।

मनोविमर्शकर्ता रञ्जना चौधरीले शौचालयको अभावमा गाउँघरमा महिला रातको अध्यारोको समयमा शौच जाने गरेको र यौन दुव्र्यवहार तथा बलात्कारमा पर्ने गरेको बताउनुभयो ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।