आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्दै


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सर्वोच्च अदालतले आज (बुधबार)देखि सेवा प्रवाहमा कटौती गर्दैछ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि अदालतले सेवा कटौती गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतको मंगलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो।

कोभिड–१९ को संक्रमण अवधिभर (वैशाख १५–३१ गतेसम्म) बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन्।

बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ।

बैठकपछि अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘काम कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख गुज्रने छैन।’

सर्वोच्च अदालतको उक्त निर्णय हाललाई आजदेखि वैशाख मसान्तसम्म लागू हुनेछ। बाँकी थप निर्णय आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने अदालतले जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।