सांसद अनुपस्थित भएकोप्रति कास्की कांग्रेसको गम्भीर ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाली कांग्रेस कास्कीले बुधबार प्रदेशसभामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराइएको आरोप लगाएको छ ।

बुधबार प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको समयमा सांसद अनुपस्थित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको कास्की कांग्रेस सभापति कृष्णबहादु केसीले बताएका छन् ।

केसीले बिहीबार विज्ञप्ती जारी गर्दै सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको बताएका हुन् । उनले अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि हठात्मा संसद अधिवेशन अन्त्य गर्ने, छलफल शुरु भएपछि पिसिआर परिक्षणका नाममा संसद अवरुद्ध पार्ने जस्ता संसदीय अभ्यास विपरितका क्रियाकलापहरुमा सरकार शुरुदेखिनै संलग्न रहेको समेत आरोप लगाएका छन् ।

‘विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग गर्नु र स्थानीय प्रशासन समेत त्यसमा संलग्न रहनु निन्दनीय कार्य हो ।’
विज्ञप्तीमा उल्लेख छ ।

साथै प्रदेश सांसद खिमविक्रम शाहीको पिसिआर रिपोर्ट एकै समयमा फरक–फरक आउनु रहस्यमय रहेको विज्ञप्तीमा भनिएको छ । एकै समयमा दुई थरी रिपोर्ट आउनु रहस्यमय भएको र स्वास्थ्य संस्थाको विश्वसनीयतामा समेत प्रश्न उठ्ने क्रियाकलाप हुनु दुःखद भएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै ‘संघीयतालाई कमजोर बनाउने गरीे प्रदेश सरकारले जसरी पनि सत्तामा टिकिरहने सर्वसत्तावादी रवैयाको घोर निन्दा र भत्र्सना गर्दछौं ।’ केसीद्वारा जारी विज्ञप्तीको अन्त्यमा भनिएको छ ।

बुधबार गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला एक्कासी गायब भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चरक अस्पतालको आईसियूमा भेटिएका थिए । शाही अनुपस्थित भएपछि उनकै पार्टी जनमोर्चाले खोजी गरिदिन माग गर्दै संसद सचिवालय निवेदन दिएको थियो ।

निवेदनमा सांसद शाही नभेटिएसम्म संसद बैठक स्थगित गर्न माग गरिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।